×

वीरगञ्ज, २५ फागुन । नेपाल सुशासन पार्टीको पर्सा जिल्ला अध्यक्षमा युवा नेता मधुसुदन चौरसिया चयन भएका छन् ।

विद्यार्थी राजनीतिको लामो अनुभव बटुलेर पछिल्लो समय सक्रिय राजनीति गरिरहेका चौरसियालाई नेपाल प्रहरीका पूर्व डिआइजी रमेश प्रसाद खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको पर्सा जिल्ला अध्यक्ष बनाइएको हो ।

बुधबार जिल्लाको विन्दवासिनी गाउँपालिका-३ स्थित प्रसौनी भाठामा खरेलको प्रमुख आतिथ्यमा आयोजित पार्टीको घोषणा सभामा चौरसियालाई सर्वसहमतिबाट जिल्ला अध्यक्ष चयन गरिएको छ । 

चौरसियाको नेतृत्वमा २१ सदसिय जिल्ला कार्यसमितिसमेत गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा चोकट गिरी, सचिवमा बालेश्वर चौधरी, कोषाध्यक्षमा फैयाज अहमद, सदस्यहरुमा गौर दास, लालबाबु रामलगायत रहेका छन् ।

पार्टीले चौरसियालाई जिल्ला अध्यक्ष बनाएर एउटा नयाँ उदाहरण कायम गरेको छ । पूराना पार्टीहरुले युवालाई अवसर नदिएको बेला पर्सा जस्तो ठूलो जिल्लाको जिम्मेवारी युवाको काँधमा सुम्पिएर नेपाल सुशास्सा पार्टीले युवालाई अगाडी सारेर नयाँ उदाहरण कायम गरेको हो ।

घोषणा सभालाई सम्बोधन गर्दै पार्टीको केन्द्रीय अध्यक्षसमेत रहेका खरेलले पनि समाज र देशमा परिवर्तन ल्याउन युवाको महत्व औल्याउँदै पर्सा जिल्लाको जिम्मेवारी युवालाई दिइएको बताए । “संसारलाई आज युवाले नेतृत्व गर्दैछन् । तर हामी आजपनि त्यही पूराना अनुहार दोहोरिएको देख्छौं,” उनले भने, “हामी साच्चीकै परिवर्तन ल्याउने पक्षमा छौँ भने युवालाई अवसर दिनै पर्छ ।” 

आगामी स्थानिया तहको निर्वाचनमा विन्दवासिनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत रहेका चौरसिया गत वर्ष तत्कालिन राष्ट्रिय जनता पार्टी त्यागेर खरेलले भर्खरै सुरु गरेको नेपाल सुशासन अभियानसँग जोडिएका थिए । सोही अभियान अहिले आएर पार्टीमा परिणत भएको हो ।

शान्त स्वभावका चौरसिया युवाहरुको बीचमा लोकप्रिय अनुहार हुन् ।
 

Back to top