×

वीरगञ्ज, २१ फागुन । नेपाल निर्माण व्यवसायी सङ्घ पर्साको कार्यालयमा सदस्यहरुले तालाबन्दी गरेका छन । 

सङ्घका अध्यक्ष रामाकान्त चौरसिया सहितका पदाधिकारीहरुले विधान विपरित काम गरेको आरोप लगाउँदै निर्माण व्यवसायीहरुको एउटा समूहले शनिबार वीरगञ्जको राधेमाई कार्यालयमा तालाबन्दी गरेको हो ।

कार्यसमितिको पदावधि तीन बर्ष भएपनि अध्यक्ष चौरसियाले अधिवेशन नगराएर विगत ३ वर्षदेखि सङ्घलाई पङ्गु बनाएको निर्माण व्यसायी आलम देवानले बताए । विधानका अनुसार चौरसियाको पदावधि सकिसकेको छ ।

सङ्घको विधानका अनुआर निर्वाचित पदाधिकारीको कार्यकाल ३ वर्षसम्म मात्र हुन्छ । पदाधिकारीहरुको कार्यकाल सकेसँगै नयाँ नेतृत्व चयनका लागि अधिवेशन बोलाउनु पर्ने भएपनि चौरसियाले सचिव सुरेश पटेलसँगको मिलोमत्तोमा ३ वर्षदेखि एकलौटी ढङ्गले सङ्घ चलाइरहेको देवानको भनाई थियो । 

चौरसिया र पटेलले सङ्घको कार्यालयलाई पनि जिर्ण अवस्थामा पुर्‍याएका छन् । कार्यालयका कोठा वर्षौंदेखि नखुल्दा टेबुल, कुर्सी र फाइलहरुमा धुलो बसिसकेको छ । अध्यक्ष र उपाध्यक्षको कोठा दुर्गन्धीत छ, फाईलहरु जजातै फालिएका छन्, कोठाहरु माकुराको जालोले भरिएका छन् । कार्यालयमा रहेका एकजना सहयोगीलेसमेत वर्षौंदेखि तलब नपाएको गुनासो गरे ।

आन्दोलनरत व्यवसायीहरुले सङ्घका सबै सदस्यलाई बोलाएर छलफल मार्फत नयाँ नेतृत्व चयनका लागि अधिवेशन नबोलाएसम्म तालाबन्दी र विरोधका कार्यक्रमहरु जारी रहने जनाएका छन् । 

अधिवेशन बोलाउन पटक-पटक आग्रह गरेपनि चौरसियाले वेवास्ता गर्ने गरेको आलमले बताए । ‘भेटेर, फोन गरेर, ज्ञापन पत्रसमेत बुझाएर हामीले अधिवेशन गर्न आग्रह गरिसकेका छौँ । तर हाम्रो मागको कहिलेपनि सम्बोधन भएन,’ आलमले यात्राडेलीलाई भने ।

निर्माण व्यवसायीहरुको हक हितका लागि गठित सङ्घले काम नगरे सङ्गठन बन्द गर्नुपर्ने बताउँदै अर्का निर्माण व्यसायी सञ्‍जय पटेलले भने भने, ‘नाम मात्रको सङ्घको काम छैन । अधिवेशन नगराउने हो भने सङ्घ खारेज गरे हुन्छ ।’ 

हालका पदाधिकारीहरुले आफनो घरमा बसेर महाधिवेशन प्रतिनिधि पठाउँनेदेखि लिएर विधान विपरित काम गरिरहेको पटेलको गुनासो छ । सङ्घको महाधिवेशन यही फागुन २७ र २८ गतेकाठमाडौँमा हुन् लागेको छ ।

अहिलेका पदाधिकारीहरुले बाहिरको टेण्डर बाहिरै मिलाउँने र कमिशनको भागबन्डा लगाउने गरेको सङ्घका साधारण सदस्यसमेत रहेका निर्माण व्यसायी मोहन यादवले आरोप लगाए । यादवले अध्यक्ष चौरसिया सङ्घ चलाउँन असक्षम रहेको बताउँदै भने, ‘ यस्ता पदाधिकारीलाई गेटबाट बाहिर निकालेर नयाँ कार्यसमिति चयनको लागि आवश्यक प्रकृया अगाडी बढाउँनु विकल्प हामीसँग छैन् ।’

यता, सङ्घका अध्यक्ष रामाकान्त चौरसियाले हाल निर्वाचित पदाधिकारीहरुमाथि सङ्घकै एकजना सदस्यले दिएको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकोले कुनै आफूले चाहेरपनि काम गर्न नसकेको प्रतिक्रिया दिए ।

यद्दपी, सङ्घको विधानमा कुनै कारणवास अधिवेशन हुन् नसक्दा बढीमा ३ महिनाको लागि सोहि कार्यसमितिले कार्य सञ्चालन गर्न मिल्ने र त्यसपछि कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरु पद स्वत: खारेज हुने र सङ्घको पूरा अधिकार सोहि अवधिमा मनोनयन भएका सल्लाहकारको जिम्मामा जाने व्यवस्था छ । सल्लाहकार समितिले पनि ९० दिन भित्रमा कार्यसमिति र पदाधिकारीहरुको नयाँ निर्वाचन गर्नुपर्ने सङ्घको विधानमा उल्लेख छ ।  

तालाबन्दी गरेका व्यवसायीहरुले सङ्घको विधानमा व्यवस्था भए अनुसार अधिवेशन गर्नुपर्ने मागसमेत गरेका छन् ।

Back to top