प्रज्वल अधिकारी :
रक्सीको प्याला उठाउन सँगै ग्लास ठोक्छयौ
यता मन झसंङ्ग हुन्छ
रक्सी लागेको मैले– जति बेर राखे पनि शीर काँधमा
अहँ ! इन्कारको एक भाषा बोल्दिनौ
सम्झाउछ्यौ/ बुझाउछ्यौ
सागर भन्दा गहिरा
आकास भन्दा फराकिला
नदी भन्दा लामा कुरा गर्छ्यौ
साँच्चै को हौ तिमी ?
मरुभूमिको कुरा गरे भने मैले
तिमी बादलको घुम्टो ओढाइदिन्छ्यौ
अभावको कुरा गर्न लागें भने
मेरो ओठ बन्द गरिदिन्छ्यौ र हृदयभरि भाव भरिदिन्छ्यौ
नाक खुम्च्याएर हाँसिदिन्छ्यौ जब
मेरा दुःख खुम्चिएर बसिदिन्छन्
झिम्क्याइदिन्छयौ परेली– मेरा खुशी जुर्मुराउछन्
भन न तिमी को हौ ?
अलिकती टाढा हुन्छयौ – चिसो सिरेटोले हमला गर्छ
अलिकती रिसाउछ्यौ – जिन्दगीले मृत्युको बाटो ढुक्छ
तिमीलाई सम्झिन्छु–
साइबेरियाबाट उडेका चरा टौदह आइपुगेजस्तो
बर्षौँदेखी उडेको खुशी ओठमा आएर बसिदिन्छन्
जब भेटिन्छ्यौ तिमी– जीवनको हराएको धून भेटिन्छ
जब छुट्छ्यौ तिमी– भेटिएको धून तरंगीत भइरहन्छ
म भन्दिन नि त कसैलाई
भन न तिमी मेरो को हौ ?
अचम्म लाग्छ–
फोनमा रिङटोन बजिरहे जस्तो
मेसेन्जरले तिमीलाई नै पर्खिरहे जस्तो
लाइक र कमेन्टले तिमीलाई कुरिरहे जस्तो
म बस्ने हरेक ठाउँको खाली कुर्सी तिम्रो लागि जस्तो
यो खाली खालीमा पुर्ण भएर बसेकी
भन न तिमी को हौ ?
स्कुलको बच्चाले नयाँ मिसलाई हेरे जस्तो
नवजात शिशुकी आमाले शिशु हेरे जस्तो
म तिमीलाई एकोहोरो हेरिरहेछु
तिमी सोध्छ्यौ
म अनुत्तरित हुन्छु
साँच्चै मैले कसलाई हेरेको थिएँ
अब त तिमीले नभने पनि
मैले तिमीलाई चिनिसके !