×

वीरगञ्ज, ११ कार्तिक ।  पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुती गराउँदा प्राप्त हुने यातायात खर्च नपाएको समाचार प्रकाशमा आएको छ । स्वास्थ्य केन्द्रमा प्रसुती गराउँदा नेपाल सरकारबाट प्राप्त हुने यातायात खर्च नपाएको सुत्केही महिलाहरुले गुनासो गरेका छन् । 

धोबिनी गाउँपालिका र वडाअध्यक्षको चरम लापरवाहीका कारण यातायात खर्च नपाएको महिलाहरुको आरोप छ । गत आर्थीक वर्ष २०७७/७८ को असारसम्ममा प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरको बर्थिंग सेन्टरमा ९३ जना महिलाहरुले सुरक्षित प्रसुती गराएको स्वास्थ्य केन्द्रको तथ्यांकमा उल्लेख छ । 

नेपाल सरकारको नियमअनुसार ति ९३ जनालाई यातायात खर्चवापत रु. १ हजार र स्वास्थ्य संस्थामा ४ पटक चेकजाँच गराएको २ सयका दर रु ८ सय दिनुपर्ने हुन्छ । उक्त रकम हालसम्म पनि नपाएको गुनासो महिलाहरुको छ । चालु आर्थीक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्म ६५ जना महिलाहरुले प्रसुती गराएको स्वास्थ्य केन्द्रको बर्थिंग सेन्टरमा कार्यरत स्टाप नर्स प्रिया महासेठले जानकारी दिइन् । 

गाउँपालिकाले रकम पठाइसकेको भएपनि स्वास्थ्य केन्द्रको नाममा बैंक खाता खोल्न नसक्दा समस्या भएको स्वास्थ्य केन्द्र भिखमपुरका प्रमुख  सन्तोष कुमार साहले बताए । 

वडाअध्यक्ष र गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नन्दलाल कुर्मीले खाता खोल्न कुनै चासो नदेखाएको उनको भनाई छ । गत आर्थीक वर्षमा बर्थिंग सेन्टरमा प्रसुती गराएबापत १ लाख ८७ हजार रकम आएपनि दिन सकिएको छैन । 
 

Back to top