वीरगञ्ज २६ असोज । राउण्ड टेबल नेपाल अन्तर्गत वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ ले दशैँको उपलक्षमा नि:शुल्क सहायता कक्ष सञ्चालन गरेको छ ।
वीरगञ्जमा बडा दशैँको अवसरमा लाग्ने मेलामा विभिन्न स्थानबाट आउने श्राद्धालु र भक्तजनहरुको सहयोगका लागि वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ ले स्थानीय संघ संस्थाहरुसँगको सहकार्यमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।
स्थानीय संस्था सानो पाइला र इम्प्रुभीङ्ग वीरगञ्जसँगको सहकार्यमा वीरगञ्जको माईस्थान चोकमा लगाइएको सहायता कक्षको प्रथम दिन नि:शुल्क प्राथमिक स्वास्थ्य उपचार, औषधी, मास्क र पानी वितरण गरिएको वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ का अध्यक्ष दीपल खन्नाले बताए ।
सहायता कक्षबाट पहिलो दिन ७ जना विरामीहरुको प्राथमिक स्वास्थ्य उपचार गरिएको, १५ व्यक्तिलाई आवश्यक औषधी वितरण गरिएको, ३ सय ५० जनालाई मास्क वितरण गरिएको र हजारभन्दा पनि बढी व्यक्तिलाई पानि वितरण गरिएको अध्यक्ष खन्नाले जानकारी दिए ।
सहायता कक्ष दशैँ मेलाको अवधिभर जारी रहेन सानो पाइला संस्थाका कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफले जनाए । वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ ले १००'स ग्रुपद्वारा सञ्चालित नि:शुल्क सेवा शिविरमा पनि औषधी लगायतका सामग्री सहयोग गरेको छ ।