×

हामी यतिबेला चाडवाडको मुखमा छौँ । नेपालीहरुको महान् पर्व बडा दशैँ बिहिवारदेखि शुरु हुँदैछ । चाडवाडका लागि किनमेल गर्नेहरुको भिडभाड बजारमा बढ्दै छ । भिडभाड बढ्नु स्वाभाविक पनि हो । त्यसैगरी अध्ययन तथा रोजगारका शिलशिलामा टाँढा–टाँढा गएकाहरु घर फर्किने क्रम पनि जारी छ । 

यद्यपी नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या भने कम भएको छैन । स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई हेर्ने हो भने अहिलेपनि देशभर दैनिक ८ सयको हाराहारीमा नयाँ कोरोनाका सङ्क्रमितहरु भेटिरहेका छन् ।  तर बाहिर निस्किँदा मास्क नलगाउने जस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा लापरवाही भने बढेको छ । फलस्वरुप चावाडको सन्निकटमा लापरवाही बढ्दा कोरोना भाइरसको सङ्क्रमण फैलिने जोखिम बढ्न सक्छ । यसका साथै बाहिरबाट आउनेहरुबाट पनि सङ्क्रमण नसर्ला भन्न सकिने अवस्था छैन । 

पछिल्ला दिनहरुको अवस्थालाई नियाल्ने हो भने आम नागरिकमा निर्धक्कता बढेको आभाष हुन्छ । एकातिर कोरोना भाइरसको तेस्रो लहरसँगै विभिन्न भेरियन्टहरुको बारेमा चर्चा चुलिरहेको समयमा नागरिकमा भने अब अवस्था सामान्य भइसक्यो भनेर ढुक्क हुने मानसिकता पलाएको पाइन्छ । तसर्थ सबैले आफ्नो सुरक्षा आफै गर्नुको विकल्प देखिंदैन । हामीले चाडवाडको समयमा गरेको लापरवाहीका कारण पछि पछुताउनुपर्ने अवस्थाको सृजना हुनसक्छ । त्यसैले सतर्कता अपनाउन महत्वपूर्ण छ ।

आवतजावत बढ्न जाँदा सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा स्वास्थ्य मापदण्डको पालना गर्न आवश्यक छ । असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले सिमा नाका खुला गरेको हुँदा अँझै संक्रमणको जोखिम बढेको छ । तथापी सिमानाका चेकजाँचमा कडाई गर्नुपर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुगोस् । त्यस्तै बाहिरबाट आउनेहरु सेल्फ क्वारेन्टिनमा बसे भने सङ्क्रमणबाट सुरक्षित रहन सकिन्छ । यसबाट आफुसँगै परिवार र आफन्तहरु पनि सुरक्षित हुन्छन् भन्नेमा कुनै आशंका छैन । अहिले नेपालमा सबैले कोभिड विरुद्धको खोप पनि नलगाई सकेकोले पनि जोखिम कायम रहेको हुँदा यसलाई नियन्त्रण गर्न समन्वयात्मकरूपमा हरसम्भव उपायहरू अवलम्बन गर्न र गराउन हामी आफैले पनि पहल गर्नुपर्छ ।

दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमितरूपमा साबुनपानीले हातधुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता क्रियाकलाप नै कोरोनाबाट बच्ने भरपर्दो उपाय मानिएको हुँदा लापरवाही कदापी नगरौँ । यति गर्दा गर्दै पनि कोरोना भाइरससँग मिल्दो जुल्दो लक्ष्ण देखिएमा अन्तिम विकल्प चिकित्सकको परामर्श र स्वास्थ्य संस्थाहरु त छँदै छन् ।  यति मात्रै नभएर आफ्नो व्यक्तिगत खानपान देखि दैनीकीमा पनि ध्यान दिन सके कोरोना मात्रै हैन अरु रोगहरुले पनि छुने आँट गर्दैनन् । शारीरिक व्याम गर्नु, पौष्टिक तथा स्वास्थ्यबद्र्धक भोजन गर्नु, पानी प्रशस्तै पिउनाले धेरै रोगहरुबाट सुरक्षित रहन सकिन्छ । सबैमा बडा दशैँ, दीपावली र छठ पर्वको शुभकामना ।

लेखक वीरगञ्जस्थित नारायणी अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत छन् ।

Back to top