×

दक्षिण अफ्रिकामा भेटिएको कोभिड–१९ को नयाँ भेरिएन्ट “ओमीक्रोन“ फेरि पनि विश्व समुदायका लागि चिन्ताको विषय बनेको छ । पछिल्लो साता पहिलो पटक रिपोर्ट गरिएको यस नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले  “भेरिएन्ट अफ कन्सर्न” का रुपमा वर्गीकृत गरेको छ । भेरिएन्ट अफ कन्सर्न अर्थात अन्य भेरिएन्टका तुलनामा धेरै संक्रामक र छिटो फैलन सक्ने बताइएको छ । 

यो लेख तयार पार्दासम्म ओमीक्रोन भेरिएन्ट दक्षिण अफ्रिका बाहेक युनाइटेड किंगडम,  बोत्स्वाना, हङकङ, बेल्जियम, अस्ट्रेलिया र इजरायलमालगायत अन्य अफ्रिकी र युरोपेली देशहरुमा समेत देखा परेको बताइएको छ । तर नेपाल र छिमेकी मुलूक भारतमा भने अहिलेसम्म नयाँ भेरिएन्टको कुनै पनि संक्रमित भेटिएका छैनन् । तर संक्रमित नभेटिएको भन्दैमा नेपालमा यो भेरिएन्टको कुनै पनि संक्रमित छैन भन्न मिल्ने अवस्था भने छैन । परिक्षण गर्दै जाँदा यस भेरिएन्टका संक्रमित पनि भेटिन सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने आवश्यक्ता छ । 

हालसम्म विश्वस्तरमा उपलब्ध एपीडोमियोलजिकल र क्लिनिकल प्रमाणहरूलाई अध्ययन गर्दा ओमीक्रोन भेरिएन्ट अत्यधिक संक्रामक देखिएको छ । ओमीक्रोन भेरिएन्टमा स्पाइक प्रोटिनमा धेरै संख्यामा उत्परिवर्तन (म्यूटेसन) हुँदा यो चिन्ताको विषय बनेको हो । 

कुनै पनि भाइरसले धेरै म्यूटेसन गर्दा त्यसको  संक्रमण गराउन सक्ने क्षमता बढ्न र त्यसको विरुद्ध लगाइने खोपको प्रभावकारितामा पनि प्रभाव पर्न सक्छ । हाल उपलब्ध कोरोनाविरुद्धका भ्याक्सिन (खोप) हरु मुख्यतयाः स्पाइक प्रोटिनलाई लक्षित गरेर बनाइएको कारण ओमीक्रोन भेरिएन्टले खोपबाट बनेको एन्टिबडी पहिचान नगर्न पनि सक्छ । यसले हामीले लगाएको खोपबाट निर्मित एन्टीबडीलाई छल्यो भने अवस्था भयावह हुन सक्छ र खोप लगाएका र एन्टीबडी विकास गरिसकेका व्यक्ति पनि संक्रमित हुन सक्छन ।

यद्यपि यो नयाँ भेरिएन्टमा खोप लगाएका वा प्राकृतिक रूपमा कोरोनाबाट निको भइसकेका व्यक्तिमा रहेको एन्टिबडीबाट बच्ने क्षमता छ कि छैन भन्ने अझै स्पष्ट भइसकेको छैन । यसलाई बुझ्न अँझै केहि हप्ता समय लाग्न सक्छ ।

अध्ययनका अनुसार यस भेरिएन्टको संक्रमण दरको गणना २ रहेको छ जुन डेल्टा (१.६४)) भन्दा पनि बढी छ । अहिलेसम्म यसको रोग प्रतिरोधात्मक क्षमता अथवा गम्भीरता थाहा पाउन पर्याप्त तथ्यांक पनि हामीसँग छैन । त्यस्तै यसबाट हुन सक्ने मृत्युदर बुझ्न पनि हामीलाई कम्तिमा १० देखि १५ दिनसम्म कुर्नु पर्ने हुन्छ । यद्यपी दक्षिण अफ्रिकाबाट आएका तथ्यांकलाई हेर्दा यसको संक्रमण दर धेरै उच्च छ ।

नेपाल लगायत कयौँ  राष्ट्रहरुले अफ्रिकी र संक्रमण देखिएको देशहरुबाट आवागमन बन्द गर्ने घोषणा गरेका छन् र सावधानी बढाएका छन् । डब्ल्यूएचओले पनि नयाँ भेरिएन्ट संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । 

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आम मानिसलाई सावधानी अपनाउन सल्लाह दिएको छ । किनभने नेपालमा संक्रमण दर कम भएसँगै यहाँ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन छोडिएको छ । ओमिक्रोन भेरिएन्टबाट जोगिन हामीले समय–समयमा साबुन पानिले २० सेकेन्डसम्म हात धुने, सेनीटाईजरको प्रयोग गर्ने, मास्क र पञ्जा लगाउने, भिडभाडमा नजाने, भौतिकी दुरी कायम गर्ने र उपलब्ध भए अनुसार खोप लगाउने कार्यलाई प्राथमिकताका साथ पालना गर्नुपर्ने हुन्छ ।

त्यसैगरि सरकारले पनि यसअघि नेपालमा भित्रिएका दुई लहरको प्रभावबाट पाठ सिक्दै पूर्व तयारी तर्फ लाग्न आवश्यक छ । अफ्रिकी र संक्रमण फैलिएका देश मात्र नभइ जुनसुकै देशबाट आउने व्यक्तिको कडाईका साथ जाँच गर्दै क्वारेनटिन र आइसोलेट गर्ने, खुल्ला रुपले भारतबाट आवागमन हुने स्थानमा रहेका हेल्थ डेस्कहरुलाई पुन: चुस्त बनाउने, स्वास्थ्य प्रणालीमा रहेका कमजोरीहरुलाई समयमा सुधार गर्ने, स्रोत, साधन र तालिम प्राप्त जनशक्तिको व्यवस्थापन गर्ने जस्ता विषय तर्फ पनि सरकारको ध्यान जानुपर्दछ । कोरोनाको पहिलो र दोस्रो लहरमा स्रोत र जनशक्ति आभावका कारण धेरै संक्रमितले ज्यान गुमाउनु परेको थियो । यस पटक सजकताका साथ सरकारले पूर्व तयारीलाई आफ्नो प्रमुख प्राथमिकता बनाउनु पर्दछ ।

(डा. दास वीरगञ्जस्थित नारायणी अस्पतालमा कोभिड संयोजकका रुपमा काम गरिसकेका छन् । उनि हाल पनि त्यहाँ कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत छन् ।)

Back to top