×

पछिल्लो समयमा सीओपीडीका बिरामीहरुको संख्या बढ्दो क्रममा छ । यसअघि कोरोना भाइरसको संक्रमण भएको बेला पनि अधिकांश संक्रमितहरुमा सीओपीडी पनि देखा पर्ने गरेको तथ्यांक छ । तर रोग बढेपनि यसको बारेमा धेरै नागरिक अन्जान छन् यद्यपी सीओपीडी भन्ने पनि रोग छ भनेर समेत धेरैलाई थाहा छैन ।

लक्ष्ण देखिएपनि यी लक्ष्णहरु सीओपीडी रोगकै हुन् भनेर ज्ञान नहुँदा चेकजाँचका लागि स्वास्थ्य संस्था जान र चिकित्सकको सल्लाह एवम् परामर्श लिनेतर्फ ध्यान जान सकिरहेको छैन । फलस्वरुप के हो सीओपीडी ? यसका लक्ष्ण अनि बच्ने उपायका बारेमा आज केही जानकारी लिऔँ । 

के हो सीओपीडी 

क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज (सीओपीडी) फोक्सोसँग सम्बन्धित रोग हो । जसमा बिरामीलाई सास फेर्न धेरै गाह्रो हुन्छ । फोक्सो धेरै स्पन्जी हुन्छ, जब हामी श्वास मार्फत हावाभित्र लिन्छौ, अक्सिजन हाम्रो रगत भित्र जान्छ र कार्बन डाइअक्साइड बाहिर जान्छ, तर सीओपीडी रोग भएपछि यो प्रक्रियामा बाधा पुग्छ । सीओपीडी रोगीहरुलाई सास फेर्न समस्या हुन्छ र अक्सिजन हाम्रो शरीरमा पूर्ण रुपमा पुग्दैन । जसले गर्दा श्वासप्रश्वासमा अप्ठ्यारो हुन्छ । 

सीओपीडी किन हुन्छ ? 

पछिल्लो समय बदलिँदो जीवनशैलीका कारण बढ्दै गएको धुम्रपान सेवन सीओपीडी रोगको सबैभन्दा ठूलो कारण बनेको छ । सिगार, चुरोट, बिडी, हुक्का जस्ता धुम्रपान सेवन हाम्रो फोक्सोका लागि खतरनाक हुन्छन् । धुवाँ हाम्रो साससँगै शरीरभित्र पस्छ र फोक्सोमा गहिरो क्षति पु¥याउँछ । त्यसैगरी सीओपीडीको अर्को मूख्य कारक प्रदुषण हो । सवारी साधनबाट निस्कने धुवाँ र त्यसबाट निस्कने विषालु ग्यास पनि हाम्रो फोक्सोका लागि खतरनाक हुन्छ । त्यस्तै गाउँघरमा दाउरा र गोबरलाई जलाएर खाना पकाउँदा निस्केको धुवाँले पनि सीओपीडी हुने गरेको छ । 

सीओपीडीका लक्षण

  • श्वासप्रश्वासमा कठीनाई आउनु्
  • खोक्दा धेरै खकार आउनु 
  • ८ हप्तासम्म खोकी ठीक नहुनु्
  • स्वाँ स्वाँ हुनु वा ढुकढुकी बढ्नु 
  • नङ, ओठ र कानले तल्लो भाग निलो हुनु 

सीओपीडीको परीक्षण

स्याँ—स्याँ हुने वा सास फेर्न गाह्रो हुने, लामो समयसम्म खोकी लाग्ने, खोक्दा खकार आउने जस्ता लक्षणहरु द्येखिएको खण्डमा तपाईले अन्य परीक्षणसँगै सीओपीडीको परीक्षण पनि गराउनु पर्दछ । समयमा यसको उपचार नगराए हामीलाई घातक हुन जान्छ । सीओपीडी निश्चित गर्न व्यक्तिगत जानकारी, शारीरिक परीक्षणर फोक्सोको परक्षिण (स्पाइरोमेट्री) गर्ने गरिन्छ । स्पाइरोमेट्री एउटा फोक्सोको जाँच हो, जुन स्पाइरोमिटर मेसिनद्वारा गरिन्छ । यस मेसिनले तपाईको फोक्सोले कति राम्रोसँग काम गरिरहेको छ भनेर मापन गर्दछ । 

सीओपीडीको उपचार

सीओपीडी पुर्ण रुपमा निर्मुल गर्ने उपचार छैन तर यसलाई नियन्त्रण गर्न भने सकिन्छ । यो रोग नियन्त्रण गर्न सुरुमा धुम्रपान त्याग्ने, फोक्सोलाई हानि गर्ने तत्वहरुबाट टाढा रहने र चिकित्सकको सल्लाहअनुसार निरन्तर औषधिको सेवन गर्नुपर्ने हुन्छ । योरोगको लागि धेरै जसो औषधिहरु इन्हेलरको रुपमा उपलब्ध छ । इनहेलरबाट लिइने औषधि सिँधै तपाईको फोक्सोमा मात्र पुग्ने भएकाले इन्हेलर सुरक्षित र लाभदायक हुन्छ र यसको अरु औषधिको तुलनामा नकारात्मक औषधिको मात्रा कम हुने हुनाले नकारात्मक असर गर्ने जोखिम पनि कम नै हुन्छ ।

सास बिना गाँस, बास र कपासको के अर्थ अभियान

सीओपीडी मुख्यतया सासँग सम्बन्धित रोग हो भनेर बुझ्दा पनि कुनै फरक नपर्ला । किनभने श्वासप्रश्वासमा समस्या आउनु नै यसका लक्ष्णभित्रका एक लक्ष्ण हो । यसर्थ हाम्रो सास नै रहेन भने गाँस, बास र कपासको के अर्थ ? 

त्यसैले सासलाई सुरक्षित राख्नका लागि पनि सीओपीडी रोगको बारेमा जानकारी हुन अपरिहार्य छ । सासलाई सुरक्षि राख्न अर्थात जिवित रहनका लागि फोक्सो स्वस्थ हुनुपर्छ । फोक्सोलाई सुरक्षित राख्न नेप्लिज रेस्पिरेटरी सोसाइटी र सिप्ला लिमिटेडले संयुक्त रुपमा गाँस, बास, कपास र सास अभियान नै सञ्चालन गरेका छन् ।

श्वासप्रस्वासका रोग तथा समस्याबाट जोगाउन र फोक्सो स्वस्थ राख्न चेतना फैलाउने अभिप्रायले ‘सास बिना गास, बास र कपास’ नारासहितको अभियान सुरु गरिएको हो । यो अभियान अन्तरगत फोक्सो स्वस्थ राख्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन हुनेछ । सचेतना अभियानसँगै दम, दिर्घकालिन श्वासप्रश्वास, एलर्जीक राइनाइटिस जस्ता रोगबारे जानकारी, समाधान र बिरामीहरुको लागि सहयोग प्रदान गर्न पनि यो अभियानले सघाउ पु¥याउँदै आएको छ ।

डा.दास वीरगञ्जस्थित नारायणी अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत छन् । उहाँसँग विर्तास्थित पर्सा हेल्थ क्लिनिकमा पनि भेट गर्न सकिन्छ ।

Back to top