×

वीरगञ्ज, ३२ साउन । आज साउन महिनाको अन्तिम सोमवार । वीरगञ्जसहित अधिराज्य भरीका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । 

वीरगञ्जको अलखिया मठस्थित शिब मन्दि, रानीघाटस्थित शिब मन्दिर, चिनि मिलस्थित शिब मन्दिरका साथै पर्सा जिल्लाका ग्रामिण क्षेत्रका मन्दिरहरुमा पनि दर्शनार्थी एवम् बर्तालुहरुको बाक्लो उपस्थिती रहेको छ ।

अन्तिम सोमवार भएकाले व्रतालुले आज व्रत थन्काउने हुँदा पनि भीड बढेको हो । साउन महिनाको सोमवारमा हिन्दु महिलाहरुले महादेवको पूजा गर्दै व्रत बस्ने परम्परा रहेको छ । 
साउनको सोमवारमा महादेवको पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रही आएको छ ।  

हिन्दू धर्माबलम्बी नारीहरुले भगवान् शिवको पूजा आराधना गरी मनाउँदैछन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । 


उता पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित पारसनाथ बाबाको मन्दिरमा जल अर्पण गरिएको छ । वडा नम्बर ५ कै सोलकपुर, महुवन, बलुवा लगायतका क्षेत्रका हिन्दु महिला एवम् युवाहरुले स्थित उत्तरबाहिनी नदिबाट जल भरी पारसनाथको मन्दिरमा जल अर्पण गरेका हुन् ।

पर्सा जिल्लाको नामाकरण गरिएको मन्दिरकै नामबाट गठीत पारसनाथ युवा समाज महुवनको नेतृत्वमा कोरोना भाइरसको महामारीबाट मुक्ति मिलोस् भन्ने प्रार्थनाका साथ जल अर्पण गरिएको समाजका अध्यक्ष अनिल साहले बताए । 

Back to top