×

वीरगञ्ज २४ असार । कुनै दिन एशियाबाट यूरोपको कुनै देशसम्म रेल मार्गबाटै यात्रा गर्न संभव हुनेछ भन्यो भने तपाईंलाई कतिको पत्यार लाग्न सक्छ ? तर निकट भविष्यमै यो संभव हुनसक्छ ।

युरोपको फिनल्याण्डबाट भारतको मुम्बईसम्म सामान ढुवानीको लागि मालबाहक रेल छुटि सकेको छ । जुन २१ मा  हेलसिन्कीबाट छुटेको रेलको सामान नवसेवा बन्दरगाहसम्म २०–२५ दिन लामो यात्रा तय गरेर आइपुग्ने अपेक्षा गरिएको छ । रेलमा ४० फुट आकारको ३२ वटा कन्टेनरमा कागज ढुवानी गरिएको छ । यो रेलले यूरोप देखि भारतसम्मको रेल यात्रा रुस, अजरबैजान र इरान हुँदै संभव बनाउने छ ।


इरानको बन्दर अब्बास बन्दरगाहसम्म रेलमार्गबाटै आउने माललाई पानी जहाजमा लोड गरेर हिन्द महासागरबाट जलमार्ग हुँदै मुम्बईसम्म ढुवानी गर्ने योजना छ ।

स्वेज नहर, मध्यसागर र बाल्टिक महासागरको समुद्री मार्गको विकल्पको रुपमा रेलमार्गको अवधारणा ल्याइएको हो ।

रेलमार्गबाट ढुवानी गर्दा यूरोपदेखि भारतसम्मको मालसामान ढुवानीमा लाग्ने समयलाई दुई साता देखि ४० दिनसम्म कटौती गर्न संभव हुनेछ ।


यो अन्तर्राष्ट्रिय उत्तर दक्षिण पारवहन बरण्डा ( इन्टरनेशनल नर्थ साउथ पारवहन करिडोर) को एउटा पाटो हो । यो सडक, रेल र समुद्री मार्गसहित ७२०० किलोमिटर लामो पारवहन मार्ग हो ।
यसले मध्य एशिया, युरोप, इरान, रुस र भारत जोड्छ। साथै मुम्बई, अजरबैजानको राजधानी बाकु,मस्को, तेहरान जोड्छ। सन् २०१४ मा मुम्बई देखि बाकु सम्म मालबाहक रेल परिक्षण गरिएको थियो ।
 

Back to top