×

वीरगञ्ज १८ असार । स्वदेशी घिउ उद्योगको लागी सबैभन्दा नाफामूलक व्यापारमध्येको पाम तेलको भारत निर्यात खुला भएको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डिजिएफटी) ले बुधबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै विश्वभरबाटै पाम तेलको आयात गर्न भारतीय व्यापारीको लागी खुला गरेको हो ।

तेश्रो मुलुकबाट आयातित कच्चा खानेतेल प्रशोधन गरेर भारत निकासी गर्दा राम्रो मुनाफा हुन थालेपछि स्वदेशी तेल उद्योगहरुले लगानी थपेर उत्पादन क्षमता समेत बढाएका थिए ।

केही उद्योगले नयाँ लगानी थप्ने तयारी गरेका थिए । तर गतवर्ष जुनमा भारतले पाम तेलको आयातमा रोक लगाई दिएपछि स्वदेशी तेल उद्योगले भारतले निकासीमा अवरोध गर्न नहुने भन्दै लबिङ जारी राखेका थिए ।

दक्षिण एशियाली मुलुकहरुबीचको व्यापार संगठन साफ्टाको प्रावधान अनुसार नेपालबाट खाने तेलको भारत निकासीमा शुन्य भन्सार महशुल भएकोले नेपाली उद्योगीले भन्सार महशुलमा भएको अन्तरबाट राम्रै फाइदा पाइरहेका थिए ।

नेपालबाट साफ्टा अन्तर्गत पाम तेल निकासी गर्दा जीएसटीवापत भारत सरकारलाई बुझाउनुपर्ने १२ प्रतिशत कर भारतीय क्रेताले नै तिर्नुपर्ने भएकोले नेपाली घिउ उद्योगीलाई फाइदा छ । भारतले गत आ.व.को अन्त्यतिर पाम तेलको आयातमा एक्कासी रोक लगाई दिएको थियो ।

यसले गर्दा झण्डै रु. २५ अर्बभन्दा बढीको पाम तेल निर्यात प्रभावित बनेको थियो । वीरगंज भन्सार कार्यालयका अनुसार पाम तेलको भारत निर्यात रोकिए पनि चालू आ.व.को जेठमसान्तसम्ममा सोयाबिन तेल, सूर्यमुखी तेल र फ्याटी एसिड सहित रु.३० अर्ब २७ करोड रुपैयाँ बराबरको १ लाख ७६ हजार मेट्रिक टन तेल निकासी भएको छ ।

 

 

 

Back to top