×

तालिबानले सोमबार पञ्जशिरमा विजय घोषणा गर्दै आफ्नो झन्डा फहराएको छ । तालिबानका प्रवक्ता जुबीहुल्ला मुजाहिदले विज्ञप्ति जारी गर्दै पञ्जशिर आफ्नो समूह विजयी भएको बताएका छन् । 

अफगानिस्तानमा तालिबानले कब्जा गर्न नसकेको भूभाग यहीमात्रै थियो । राजधानी काबुलबाट उत्तरपूर्वतर्फ रहेको यस क्षेत्रमा तालिबानी लडाकुहरुले झन्डा उठाइरहेको भिडियो अनलाईनमार्फत सार्वजनिक गरिएको छ ।  

यता, राष्ट्रिय प्रतिरोधी मोर्चा (एनआरएफ) का प्रवक्ता अली मैसमले  तालिबानको यो दाबीलाई खण्डन गरेका छन् । उनले तालिबान र उसको सहयोगीहरुविरुद्ध युद्ध जारी रहेको बताएका छन् । 
सबै रणनीतिक स्थानमा आफ्नो उपस्थिती रहने र लडाँइ निरन्तर जारी रहने एनआरएफले जनाएको छ । एनआरएफका मुख्य नेता अहमद मसूदले सामाजिक सञ्जालमार्फत अडियो सार्वजनिक गर्दै तालिबानविरुद्ध राष्ट्रव्यापी अभियान चलाउन आव्हान गरेका छन् । ‘तपाई भित्र हुनुस् वा बाहिर । म तपाईंहरुलाई स्वाभिमान, स्वतन्त्रता र यस देशको समृद्धिका लागि राष्ट्रव्यापी आन्दोलन गर्न आव्हान गर्दछु,’ उनले भनेका छन् । 

तालिबानले तीन साताअघि नै काबुल कब्जा गरिसकेको थियो र त्यसयता अफगानिस्तानबाट पश्चिमा समर्थनप्राप्त सरकार हटिसकेको छ । 
१ लाख ५० हजारदेखि २ लाख  हाराहारीमा जनसंख्या रहेको पन्जशिरमा भने तालिबानले कब्जा जमाउन सकेको थिएन । २० वर्षअघि अमेरिकासँगको युद्ध हार्नुअघि पनि अफगानिस्तानमा तालिबानी शासन थियो । तर, त्यतिबेला पनि पञ्जशिरमा उनीहरुको उपस्थिति थिएन । 

अफगानिस्तानमा १९८० को दशकमा सोभियतविरुद्ध युद्ध चल्दा पञ्जशिर प्रतिरोधको केन्द्र थियो । 
 

Back to top