×

वीरगञ्ज, २ वैशाख । कपडा सिलाउने तयारी गोली धागो आयातमा अव्यावहारिक भन्सार मूल्यांकन र महसुलका कारण स्वदेशी उद्योगलाई मार परेको छ । आयातकर्ताले तयारी धागोलाई औद्योगिक कच्चा पदार्थसरह सहुलियतमा भित्र्याएपछि स्वदेशका यस्ता उद्योग संकटमा परेको उद्योगीहरूले बताएका छन् ।

कम भन्सार मूल्यांकन र महसुलमा भित्रिएको धागोका कारण स्वदेशी उद्योग समस्यामा परेका हुन् । आयातकर्ताले तयारी धागोलाई कच्चा पदार्थसरह सहुलियतमा भित्र्याउँदा स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समस्या भएको एस थ्रेडका सञ्चालक मुर्ली जलानले बताए ।

कच्चा पदार्थको रूपमा प्रयोग हुने धागोको भन्सार मूल्यांकन प्रतिकिलो १५० रुपैयाँ छ । यसमा ५ प्रतिशत भन्सार महसुल र १३ मूल्यअभिवृद्धि कर लाग्छ । आयातकर्ताले तयारी धागोसमेत यही मूल्यांकन र महसुलमा भित्र्याउने गरेका छन् ।

कच्चा पदार्थको सहुलियतमा तयारी धागो आयात हुँदा स्वदेशी उद्योगीलाई प्रतिस्पर्धामा कठिनाइ भएको जलानले बताए । ‘अव्यावहारिक मूल्यांकन प्रणालीका कारण आयातकर्ताले तयारी धागोलाई कच्चा पदार्थको सहुलियतमा भित्र्याइरहेका छन् । यसको प्रत्यक्ष मार यहाँका धागो उद्योगलाई परिहेको छ,’ जलानले भने । उद्योगीले धागो उत्पादनका लागि रङ, डब्बा, प्लास्टिक, गोलीलगायत सहायक कच्चा पदार्थ र प्याकिङ मेटेरियल पनि आयात गर्नुपर्छ । यसमा ५ देखि ४० प्रतिशतसम्म भन्सार महसुल तोकिएको छ ।

आयातकर्ताले ५ प्रतिशत भन्सारमा तयारी धागो ल्याउँदा स्वदेशी उद्योगलाई आफ्नो उत्पादन बेच्न कठिन भएको बुटवलस्थित कृष्ण धागो उद्योगका सञ्चालक कौशलकिशोर अग्रवालले बताए । तयारी धागोको मूल्यांकन र भन्सार महसुल दुवै बढाउनुपर्ने माग उद्योगीहरूको छ ।

परिमाणमा मूल्यांकन हुने तयारी धागोमा आयातकर्ताले रङ, डब्बा, गोली, प्लास्टिकलगायतको राजस्वबाट पनि उन्मुक्ति पाइरहेको दाबी उद्योगीको छ ।

लासा वा कोनमा आएको धागोलाई मात्र कच्चा पादर्थ मानेर डब्बामा भित्रिएकोलाई तयारी वस्तुसरह मूल्यांकन र महसुल तोक्दा समस्या समाधान हुने सुझाव उद्योगी अग्रवालको छ । स्वदेशी उद्योगबाट उत्पादित धागोको लागत प्रतिडब्बा ३०० रुपैयाँ पर्ने उद्योगीहरू बताउँछन् । आयातित धागो प्रतिडब्बा २५० रुपैयाँ पर्ने अग्रवालले बताए । सरकारले तयारी धागोको भन्सार मूल्यांकन र महसुललाई व्यावहारिक बनाए धागोमा आत्मनिर्भर हुन सकिने उद्योगीहरूको दाबी छ । अहिले वार्षिक २५ करोड रुपैयाँबराबरको धागोको बजार रहेको अनुमान उद्योगी जलानको छ ।

सस्तो मूल्यांकन र न्यून राजस्व तिरेर भित्रिएका धागोले आधाजति बजारमा कब्जा जमाएको उनले बताए । भारत र चीनबाट तयारी धागो आयात हुन्छ । भारतमा उत्पादित धागो सस्तो पर्ने भएपछि कतिपय स्वदेशी उद्योगले भारतमै उत्पादन गरेर भित्र्याउने गरेका छन् । घरेलु उद्योगमा पर्ने यस्ता उद्योगलाई प्रवर्द्धनको नीति लिनुपर्ने माग उद्योगीहरूको छ । अहिले वीरगञ्ज, बुटवल, काठमाडौं र हेटौंडामा यस्ता नौओटा उद्योग सञ्चालनमा छन् । यस्ता उद्योगले उपयोग गर्ने अधिकांश धागो स्वदेशी उद्योगबाटै आपूर्ति हुन्छ । स्वदेशमा मूल्यअभिवृद्धि गरी स्थानीयलाई रोजगारी दिइरहेका उद्योगलाई सरकारले नीतिगत रूपमै संरक्षण गर्नुपर्ने माग उद्योगीहरूको छ ।

Back to top