×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साको प्रमुखमा कुमोध ढुङ्गेल आएपछि राजस्व चुहावटका गतिविधिलाई अङ्कुश लगाउने क्रममा पर्सा प्रहरीको रवैयाप्रति वीरगञ्जका व्यवसायीहरूको छाता सङ्गठन वीरगञ्ज उद्योग वाणिज्य संघले आपत्ति प्रकट गरेको छ ।

आर्थिक नगरी वीरगञ्ज आर्थिक सङ्कटबाट गुज्रिरहेको देशमा व्यवसायीहरू गर वा मरको अवस्थामा व्यापार–व्यवसाय चलाईरहेका छन् । यसैबीच, प्रहरी प्रशासनलगायत सरोकारवाला निकायको गैरकानूनी छापामारीका कारणले आर्थिक नगरी वीरगञ्जका व्यवसायीहरू त्रसित बनेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । 

उद्योगी व्यावसायीहरु कहिल्यै पनि तस्करीको संरक्षण पक्षमा नरहेको भन्दै अहिलेको अवैध व्यापारले नेपालको अर्थतन्त्रलाई नै ध्वस्त पारेकोले वैध व्यापारको लागि भ्याटमा बहुदर प्रणाली र भन्सार दरबन्दीमा परिमार्जन हुनुपर्ने माग गर्दै आएको संघका उपाध्यक्ष राजपालले भने, ‘हामीले पटक पटक भन्दै आएका छौं । अवैध व्यापारले नेपालको व्यापार व्यावसाय खस्कियो ।

तस्करी नियन्त्रणका लागि कर प्रणाली र भन्सार दरमा परिमार्जन गरौं । तर, राज्यले कहिल्यै यसतर्फ ध्यान दिएन ।’ वीरगञ्जमा केही दिनदेखि विभिन्न स्थानमा जनपद र सशस्त्र प्रहरी, भन्सार, स्थानीय सरकार, आन्तरिक राजस्व कार्यालय, राजस्व विभागलगायतका निकायले छापामारी गरिरहेको व्यवसायीहरूको आरोप छ ।

असार मसान्त नजीकिंदै जाँदा राजस्व सङ्कलनको लक्ष्यलाई पूरा गर्न एवं व्यवसायीमाथि अनाहकमा मानसिक, आर्थिक यातना सिर्जना गर्न यस्तो कार्य भएकोप्रति संघले दुःख व्यक्त गरेको उनले प्रहरीले छापामारी गर्ने र छापामारीबाट बरामद मालवस्तुको मूल्य पनि निर्धारण गर्ने काम सो निकायको नभएको स्पष्ट पारे ।

भन्सार कार्यालयको प्रतिनिधिबेगर उक्त सामान भन्सार छलीको हो-होइन, कुन सामान कति मूल्यको हो भन्नेबारेमा वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि एवं आन्तरिक राजस्व कार्यालय, वाणिज्य कार्यालय लगायतको विषय भएकोले छापामारीलाई रीतपूर्वक लैजानुपर्ने उनले बताए ।

राज्यले प्रतिबन्ध लगाएको सामानहरु बजारमा प्रशस्त पाईरहेकोतर्फ प्रहरी प्रशासनको ध्यान नजाने तर तस्करी नियन्त्रण गर्न व्यापारीको छापा मारेर तर्साउने काम राज्यले गर्न नहुने व्यावसायीको भनाई छ ।

Back to top