×

वीरगञ्ज, २१ फागुन । पर्साको कालिकामाई गाउँपालिकाले गैर कर्मचारीबाट सेवा प्रवाह गराइरहेको पाइएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचय–पत्र तथा पञ्जीकरण विभागको निर्देशन र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको आदेशलाई अवज्ञा गर्दै कालिकामाईले पकहामैनपुर गाउँपालिका वडा न. २ सुर्जाहा निवासी वृजनन्दन पटेलबाट सेवा प्रवाह गराइरहेको पाइएको हो । 

गाउँपालिकाको सेवा इकाईमा कार्यरत एम.आई.एस. अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहलाई काम गर्न नदिएर गैर कर्मचारीबाट सेवा प्रवाह गराएपछि उनिहरुले उच्च अदालत जनकपुर अस्थायी इजलाश वीगरन्जमा मुद्दा दर्ता गराएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत साहले जनप्रतिनिधिको दबाबमा करीब एक महिनासम्म म्याद थप नगरि हाजीरी समेत गर्न नदिएपछि मुद्दा दर्ता गर्न विवश भएको उनिहरुले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत साहले गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको दबाबमा विभागका कर्मचारीसँग काम नगराई नियम विपरीत  विभागको सहमति विना कर्मचारी मौखिक नियुक्त गरि काम गराइरहेको पाइएको हो । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले पुस २० गते गाउँपालिकालाई ती दुबै कर्मचारीहरुको करार सेवाको म्याद थप गरि काम गराउन निर्देशन दिएका थिए । सो मुद्दाको सुनुवाई गर्दै माघ १९ गते उच्च अदालतका न्यायधीश गणेश प्रसाद बराल र अञ्जु उप्रेतीको संयुक्त इजलासले एम.आइ.एस अपरेटरलाई हाजिर गराई काम गर्न अन्तरिम आदेश दिएको थियो ।

त्यस पश्चात प्रमुख प्रशासकीय अधिकृत साहले उक्त कर्मचारीलाई छुट्टै रजिष्टरमा हाजिर गर्न दिएपनि काम गर्न दिएका छैनन् । ति कर्मचारीले गर्नुपर्ने काम अहिले गैर कर्मचारीले गरिरहेका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाको लागि गत वर्ष राष्ट्रव्यापी खुला प्रतियोगिताबाट एम.आइ.एस अपरेटर र फिल्ड सहायकमा छनोट भएका ७ सय ५३ वटै स्थानीय तहको सेवा इकाइमा नियुक्त भएका थिए । जस अन्तर्गत कालिकामाई गाउँपालिकाको सेवा इकाईमा एम.आई.एस. अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साह नियुक्त भएका थिए । 

तर आयोजनाको कार्य सम्पन्न नहुँदै विभागको स्वीकृति बिना गाउँपालिकाले दुवै कर्मचारीलाई कामबाट हटाइएको छ । गत पुस १४ गते गाउँपालिका अध्यक्ष नथुनी प्रसादले काम र प्रगति विवरण सन्तोषजनक नरहेको भन्दै पुस ११ गते बसेको कार्यपालिकाको बैठकमा निर्णय भएकोले करार नविकरण गर्न नसक्ने बताएका थिए ।

कार्यप्रगति विवरण सन्तोषजनक नरहेको भन्दै म्याद नथप्ने निर्णय गरेपनि गाउँपालिका कार्यालयको प्रशासन शाखाले मंसिर ८ गते दिएको टिप्पणी र आदेशमा एम.आइ.एस अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहको कार्यसम्पादन सन्तुष्ट रहेको उल्लेख गरिएको छ ।

२०७७ मंसिर ८ गते करार अवधि सकिने भएकाले एम.आइ.एस अपरेटर र फिल्ड सहायकले कात्तिक २४ गते गाउँपालिकामा म्याद थपका लागि निवेदन दिएका थिए । गाउँपालिकाले म्याद नथपेपछि ति कर्मचारीहरुले विभागलाई जानकारी गराए पश्चात विभागले म्याद थप गर्न निर्देशन दिएको थियो ।

सो निर्देशनलाई अटेरी गरेका प्रमुख प्रशासकीय अधिकृतले उच्च अदालतको पनि आदेशलाई अवहेलना गरेका छन् ।
 

Back to top