अशोक यादब -रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा कालोमसी दलेर दुर्व्यवहार गरिएको छ।
बिहीबार राति गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सम्पन्न गरी फर्किने क्रममा मास्क लगाएका दुईदेखि तीन जनाको समूहले सांसद पौडेलमाथि कालोमसी दलेर फरार भएको हो।
घटनाले रौतहटको राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ। निर्वाचित जनप्रतिनिधिमाथि भएको यस्तो व्यवहारलाई लोकतान्त्रिक मर्यादा र राजनीतिक संस्कृतिमाथिको आक्रमणका रूपमा हेरिएको छ।
सांसद पौडेलका अनुसार स्थानीय नागरिकका समस्या तथा मलखाद अभावलगायतका विषयमा छलफल गर्न आयोजित कार्यक्रम राति करिब ८ बजेदेखि सवा ८ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रम सम्पन्न भएपछि फर्किने तयारी गरिरहेका बेला पछाडिबाट आएका व्यक्तिहरूले चिनेजानेकै व्यक्तिले अँगालो हालेझैँ गर्दै उनको ढाडमा कालोमसी दलेर भागेका थिए।
पौडेलले आक्रमणकारीहरूको हातमा रातो झन्डा र पर्चा रहेको तथा उनीहरूले आफूलाई **‘मधेश मुक्ति अभियान’**सँग आबद्ध समूहका रूपमा संकेत गरेको दाबी गरेका छन्।
घटनापछि कार्यक्रममा उपस्थित स्थानीयवासी र समर्थकहरूले आक्रमणकारीहरूलाई पछ्याउने प्रयास गरे पनि उनीहरू अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए।
घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराइएको र घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि अनुसन्धान तीव्र पारिएको सांसद पौडेलले जानकारी दिएका छन्। प्रहरीले पनि घटनाको सत्यतथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।