×

वीरगञ्ज, २१ फाल्गुन ।  प्रदेश २ को राजमार्गमा सवारी दुर्घटनामा परी चालु वर्षको हालसम्म ३ सय ३ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश न. २ को महेन्द्र राजमार्ग र भारत सरकारको सहयोगमा निर्मित त्रिभुवन राजपथमा सवारी दुर्घटनाको संख्यामा बृद्धि भएपछि ज्यान गुमाउनेको संख्यामा पनि बृद्धि भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश न. २ पथलैयाले  जनाएको छ ।

गत वर्ष ४ सय २० जनाको मृत्यु भएकोमा चालु वर्षको हालसम्म ३ सय ३ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा करीब ४ हजार जना गम्भिर र सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश न. २ का प्रमुख हिमालय श्रेष्ठले जानकारी दिए । 

करिब ५ दशकभन्दा पहिले निर्माण गरिएको महेन्द्र राजमार्ग र भारत सरकारको सहयोगमा निर्माण गरिएको त्रिभुवन राजपथमा मर्मत सम्भार तथा सामान्य बिस्तार नहुँदा दुर्घटना बढेको श्रेष्ठको बुझाई छ ।

प्रदेश २ मा गत वर्ष १३ सय ४० सवारी दुर्घटना भएको छ भने चालु आर्थिक वर्षको ६ महिनामै त्यसको दोब्बर २४ सय ३५ सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ । 

सडक पुर्वाधारसँगै चालकको लापरवाही र राजमार्गमा चल्ने सवारी साधनको नियमित चेक जाँच नहुदा पनि सवारी दुर्घटनाको संख्या बढेको हुन सक्ने श्रेष्ठल बताए । 

Back to top