×

वीरगञ्ज ।   वीरगञ्जको ठाकुराम बहुमुखी क्याम्पसमा बिबिए संकायमा अध्ययनरथ विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विगत लामो समयदेखी बिबिएको भवन नहुँदा विद्यार्थीहरुलाई समस्या हुने गरेको छ । १ वर्षभित्र भवन निर्माण गर्ने भनेर क्याम्पस प्रशासनले आश्वासन दिएको २ वर्ष बितिसक्दा पनि भवन नबनाएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।

क्याम्पस प्रशासनभित्र भ्रष्टाचारजन्य क्रियाकलाप बढेको, क्याम्पसलाई राजनितिक अखडाको रुपमा परिणत गरेका, अनुशासनहिन बनाएको, हरेक कामहरुमा ढिलाई, क्याम्पससँग भएको रकमको दुरुपयोग, समयसमयमा हुनुपर्ने अतिरिक्त क्रियाकलापहरु नभएको भन्दै विद्यार्थीहरुले हातमा विभिन्न प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका हुन् ।

अरुजस्तो तालाबन्दी जस्ता हिंस्रक आन्दोलन नभई शान्तिपुर्ण रुपमा आफ्ना मागको सम्बोधन गर्न दवावस्वरुप आन्दोलनमा उत्रिएको बिबिए चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी अंकित शर्माले बताउनुभयो । विरोधमा उत्रिएका विद्यार्थीहरुले फाइट टुडे फर बेटर टुमारो, बिबिए भवन खोई ?, बिबिए प्रशासनको लापरवाही हाम्रो कारवाही, हामीलाई गधा बनाउन छोडेर बिबिएको नया भवन बनाउनुहोस्, हरेक विद्यार्थीको ३ लाख १९ हजार कसको गोजीमा लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

क्याम्पस प्रशासनको उदासिनताका कारण किताब हुनुपर्ने हातमा विरोधका नारा बोक्नुपर्ने बाध्यता आएर्को बिबिए दोस्रो सेमेस्टरकी विद्यार्थी अनुराधा गुप्ताको भनाई छ । क्याम्पस प्रशासनले आफ्ना मागहरुको बेवास्ता गरेको हुँदा त्रिभुवन विश्वविद्यालयलाई माग तथा समस्याहरु समावेश गरी ज्ञापन पत्र पठाउने तयारी गरेको विरोधमा सहभागी विद्यार्थी सचिन पटेलले बताउनुभयो । बिबिएका विद्यार्थीहरु आसुतोष पटेल, कञ्चन सर्राफ लगायत सम्पुर्ण विद्यार्थीहरु विरोधमा सहभागी छन् ।

बिबिएका विद्यार्थीहरुको आन्दोलन जायज भएको बताउँदै उक्त आन्दोलनमा अनेरास्ववियू ठाकुराम इकाई कमिटिले पनि समर्थन जनाएको अनेरास्ववियूका केन्द्रिय सदस्य नसिम अख्तरले बताउनुभयो ।

यस विषयमा निमित्त क्याम्पस प्रमुख सुरेश कुश्वाहाले भवन निर्माणको लागी ठेक्का दिएको ६ वर्ष भइसक्दा पनि नबनेपछि बिच बिचमा समय थप्ने, र अख्तियारमा समेत मुद्धा दायर भएको हुँदा क्याम्पस प्रशासनले केही गर्न नसक्ने प्रतिक्रिया दिनुभयो । 
 

Back to top