×

फाइल तस्विर ।

वीरगञ्ज १० कात्तिक । आयात–निर्यात परिमाणका आधारमा मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारबाट गाडी र इन्धनको आयात उल्लेख्य परिमाणले घटेको छ । कोरोना संक्रमणको असर र आयात नियन्त्रणको सरकारी नीतिका कारण यस्ता बस्तुको आयातमा कमी आएको वीरगञ्ज भन्सारका अधिकारीहरूले बताएका छन् । वीरगञ्ज गाडी र इन्धन भित्रिने मुख्य नाका हो ।

चालू आर्थिक वर्ष २०७७/ ७८ को पहिलो तीन महीनामा सबै प्रकारका गाडी र इन्धनको आयात घटेको छ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०७६/ ७७ को साउनदेखि असोजसम्ममा रू. २ अर्ब ८२ करोड मूल्यबराबरका २ हजार ९२२ ओटा जीपकार भ्यान भित्रिएका थिए ।

चालू वर्षको समीक्षा अवधिमा यस्तो आयात करीब आधामा खुम्चिएको छ । जीपकार र भ्यानको आयात ४८ प्रतिशतले घटेको भन्सार अधिकृत रमेश सुकमनीले बताए । 

चालू आर्थिक वर्षको पहिलो तीन महीनामा रू. १ अर्ब ७१ करोड मूल्यबराबरका १ हजार ५१० ओटा यस्ता सवारी साधन आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । सरकारले गत चैतमा ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका गाडी आयातमा रोक लगाएको थियो ।

त्यसअघि सवारी साधनको कर्जामा कडाइ गरेको थियो । गाडी आयातमा नीतिगत कडाई र कोरोना महामारीका कारण मागमा कमी आउँदा आयातमा असर देखिएको व्यवसायीले बताएका छन् । 
मोटरसाइकल आयात ३७ प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षको असोज अन्त्यसम्ममा रू. १ अर्ब ८८ करोड मूल्यका २१ हजार ५० ओटा मोटरसाइकल ल्याइएका छन् । गत वर्षको समीक्षा अवधिमा रू. २ अर्ब ७४ करोडका ३३ हजार ४२२ ओटा मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । 

पीकअप गाडी, ट्रक, बस, मिनीबस, अटोरिक्सा टेम्पो, ट्रयाक्टर, डम्परलगायतका सबैखालका साधनको आयात घटेको अधिकृत सुकमनीले जानकारी दिए ।
 ‘चालू आर्थिक वर्षमा इन्धनको आयात पनि उल्लेख्य परिमाणले घटेको छ । बन्दाबन्दी र निषेधाज्ञाले आवागमनमा कमीका कारण इन्धनको आयात खुम्चिएको हो,’ उनले भने । 

कोरोनाका कारण उत्पादन र बजार ठप्प भएकाले त्यसको प्रभाव इन्धन आयातमा परेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोक टेमानी बताउँछन् । 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी गिरावट हवाइ इन्धनको आयातमा देखिएको छ । यस्तो इन्धनको आयात समीक्षा अवधिको तुलनामा ७४ प्रतिशतले घटेको छ ।

कोरोना महामारीका कारण हवाइ सेवा लामो समय ठप्प हुँदा इन्धनको आयातमा उल्लेख्य कमी आएको हो । आर्थिक वर्ष २०७६÷७७ को असोजसम्ममा ४२ हजार ८६८ किलोलिटर हवाइ इन्धन आयात भएको थियो ।

चालू आर्थिक वर्षको यसै अवधिमा यो परिमाण ११ हजार २३६ किलोलिटरमा झरेको छ । पेट्रोल २५, डिजेल ३९ र एलपी ग्यास १५ प्रतिशतले आयात घटेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको छ । अभियान दैनिकबाट साभार ।

Back to top