वीरगञ्ज २८ असोज । वीरगञ्जको माईस्थानमा बुधबार युवाहरुले आधा घण्टा चक्का जाम गरेका छन् । माईस्थान क्षेत्रको विकासमा वीरगञ्ज महानगरपालिकाले चासो नदिएको भन्दै आक्रोशित भएका युवाहरुले चक्का जाम गरेका हुन् ।
माईस्थानका सचेत युवाहरु तथा वीरगञ्ज स्प्रिट क्लबका युवाहरुले गत असोज १९ गते माईस्थान क्षेत्रको विकासको सवालमा महानगरपालिकालाई गम्भीर हुनु पर्ने भन्दै मेयर विजयकुमार सरावगीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा माईस्थान क्षेत्रको सडक मर्मतको काम ७ दिन भित्र शुरु गर्ने पर्ने अल्टिमेटम दिइएको थियो ।
तर, सात दिन बितीसक्दा समेत महानगरपालिकाले भत्केका सडकहरुको मर्मत सम्भारको काम अगाडी नबढाएपछि बाध्य भएर सडम जाम गर्नु परेको युवाहरुले बताए । वीरगञ्जको माईस्थान गहवा मन्दिर पश्चिम पट्टी रहेको सडक तथा गीता मन्दिर सम्मको सडक पूर्ण रुपमा भत्किसकेको तथा जिर्ण भइसकेको अवस्थामा समेत महानगरले निर्माण कार्यमा ध्यान नदिएको स्थानिय युवाहरुको आरोप छ । महानगरले सडक निर्माणको कार्यलाई यथाशिघ्र अगाडी नबढाए आन्दोलनलाई थप कडा पार्ने चेतावनी दिएका छन् ।
स्प्रिट क्लवका अध्यक्ष राजन गुप्ताको नेतृत्वमा नेविसंघका ठाराब एकाई अध्यक्ष मनोज साह, अमित चौरसिया, युवा व्यवसायी सन्तोष सर्राफ, अन्जन गुप्तालगायतका युवाहरुको समूहले चक्का जाम गर्दै बाटो समेत अवरुद्ध गरेका थिए ।
मेयर सरावगीलाई पटक-पटक समस्याको बारेमा जानकारी गराउँदा समेत कुनै सुनुवाई नभए पछि बाध्य भएर युवाहरु बिरोधमा उत्रिएको नेविसंघ एकाई अध्यक्ष मनोज साहले वताए ।