वीरगञ्ज २८ असोज । संघीय सांसद् र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुखलाई समाजिक सञ्जाल फेसबुक मार्फत अपशब्द प्रयोग गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले छिपहरमाई गाउँपालिका वडा नम्बर ३ बस्ने अनमोल चौरसियालाई संघीय सांसद् प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई सामाजिक सञ्जाल फेसबुकमा अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ गरेको हो । चौरसिया छिपहरमाई गाउँपालिका वडा नम्बर ३ का वडा सचिव राजकिशोर प्रसाद चौरसियाका छोरा हुन् ।
चौरसियाले भदौं २० गते आयुषराज नामको फेसबुक आइडी बनाएर पर्सा निर्वाचन क्षेत्र नं. १ सांसद् प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई अश्लिल शब्द प्रयोग गरेर स्टाटस पोष्ट गरेका थिए ।
प्रहरीले यसअघि भदौ २४ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी असलम अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको मोवाइलको नम्बर प्रयोग गरेर निर्मित फेसबुक आइडीबाट यादव र सरावगीको तस्विर राख्दै परिवारका सदस्य समेत बारे आपत्तिजनक पोष्ट गरिएको थियो । तर बुझ्दै जाँदा असलमले त्यो पोष्ट नगरेको पुष्टि भएपछि उनलाई रिहा गरिएको थियो ।
प्रहरीले अनुसन्धा गर्दै जाँदा आज प्रकरणका मूख्य ब्यक्ति चौरसिया वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकबाट डेराको घरबाट पक्राउ परेका छन् ।
चौरसियाले आवेगमा आएर आफूले सामाजिक सञ्जाल मार्फत अपशब्द सहितको स्टाटस पोष्ट गरेको कबुल गरेका छन ।
वीरगञ्ज पानिटंकीस्थति डेसीमल कलेजका विद्यार्थी समेत रहेका चौरसियासँग प्रहरीले थप अनुसन्धान समेत गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए ।
मोवाइल नम्बरको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनी विरुद्ध साइबर अपराध वा अभद्र ब्यवहार के मा मुद्धा चलाउने भन्ने बिषय भने निक्र्योल भएको छैन ।