×

वीरगञ्ज २८ असोज । विभिन्न पार्टी परित्यागगरी जनता समाजवादी पार्टीमा ११ सय भन्दाबढी व्यक्तिले पार्टी प्रवेश गरेका छन् ।

पर्साको पकाहामैनपुर गाउँपालिकामा मंगलबार आयोजित पार्टी प्रवेश तथा दशैँ, दीपावली, सोहोरहिया र छठको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेस, नेकपालगायात विभिन्न पार्टी परित्यागगरी ११ सय भन्दाबढीले जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टीका वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र जसपाका कार्यकरणी अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशीहरुलाई फूलमाला लगाई पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै डा. बाबुराम भट्टराईले राज्यद्वारा उत्पीडनमा पारेका जनजाति, दलित, मधेसी, मुस्लिम, महिला, अल्पशंख्यकलगायतका समुदायलाई मूल प्रवाहमा नल्याएसम्म देशमा दिगो शान्ति कायम हुन नसक्ने दाबी गरे ।

उनले देशको इतिहास हेर्दा मधेसी जनताले देशमा शासन गरेर नेपाललाई समृद्ध बनाएको इतिहास रहेको बताए ।

पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ३ मा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा. भट्टराईले नेपाली काङ्ग्रेस र नेकपाबाट जनताको परिवर्तनको माग पूरा नहुने भन्दै जनताको माग सम्बोधन हुनको लागि जनता समाजवादी पार्टी आवश्यक भएको बताए ।

उनले जसपाले उत्पीडित, वञ्चित समुदायको पक्षमा आवाज बुलन्द गर्ने र सडक, सदनबाट हक सुनिश्चित गराएरै छाड्ने दाबी गर्दै वर्तमान सरकार एकल जातीय राज्य कायम गर्न लागेको दोषारोपण गरे ।

पुरानो संसदीय व्यवस्थाको कारण देशमा भ्रष्टाचार मौलाएको आरोप लगाउदै डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था नहुन्जेलसम्म देशमा स्थिर राजनीति कायम हुन नसक्ने बताए ।

जसपाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीले सबै प्रकारका विभेद अन्त्य गर्न चाहेको र त्यसको लागि सधैं सङ्घर्ष गरिरहने बताए । मूल प्रवाहमा पछाडि परेका समुदाय अगाडि नआएसम्म देशमा परिवर्तन नआउने बताउँदै उनले देशमा राजनीतिक परिवर्तन भएपनि नेकपा र नेकाको सोचमा परिवर्तन नभएको कारण जनताको जीवनस्तरमा परिवर्तन हुन नसकेको आरोप लगाए ।

पकहामैनपुर गाउँपालिकाका प्रमुख विजय चौरसियाले स्वागत गर्नु भएको कार्यक्रममा उपेन्द्र यादव, भोला प्रसाद कानु, सुदर्शन राम लगायतको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी करिब ११ सयको हाराहारीमा नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।

कार्यक्रममा प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत, नेता राजेन्द्र श्रेष्ठ, पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव, क्षेत्र नं. ३ का सांसद् हरिनारायण रौनियार, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, भीमा यादव, करीमा बेगम, जनत अन्सारी, जसपाका नेता रामनरेश यादव, नेताहरू निजामुदिन समानी, वीरेन्द्र यादव, सुन्दर कुर्मी, तबरेज अहमद, मुकेशद्विवेदी लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

Back to top