×

वीरगञ्ज २६ असोज । लिङ्ग पहिचान गरी भ्रुण हत्या गराउन भुमिका खेल्ने आरोपमा पक्राउ परेका स्वास्थ्यकर्मी छुटाउन सांसद देखि उनका आफन्तले पैसाको बिठो बोकेर जिल्ला प्रहरी कार्यालय पर्सामा धाई रहदा आरोपि स्वास्थ्यकर्मीलाई पर्सा प्रहरीले थप कारर्वाही गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ को छपकैयाँमा रहेको (शिवशंकर यादव) एसएस यादव क्लिनिकबाट भ्रुण हत्यामा भूमिका खेलेको आरोपमा शनिबार प्रहरीले सिएमए नारद साहलाई पक्राउ गरेको थियो ।

साहले एसएस यादव मेडिकलमा जाँच गर्न आउने महिलालाई नारायणी अस्पतालसँगै भएको छेउको गल्लिमा रहेको नेशनल प्याथोलोजिमा लगेर आफैंले अल्ट्रासाउण्ड गराउने र भ्रुण पहिचानपछि छोरी भए गर्भपतन गराउने गरेका उनीमाथि आरोप छ ।

सामान्य स्वास्थ्यकर्मीले अल्ट्रासाउण्ड गर्न नपाउने भएपनि सिएमए गरेका साहले क्लिनिकमा आउने महिलाहरुको अल्ट्रासाउण्ड आफैँ गर्ने गरेका थिए ।

साहले क्लिनिकमा आउनेहरुबाट पाँचदेखि सात हजार रुपैयाँसम्म लिएर लिङ्ग पहिचान गरिदिने गरेका प्रहरीको दावी छ ।

छोरा वा छोरी छुट्याएपछि महिला वा उनीहरुको श्रीमानको आग्रहमा उनले गर्भपतन गराउने औषधी पनि उपलब्ध गराउने गर्थे । औषधीले नभए क्यूरेड गरेर गर्भपतन गराउन निजी क्लिनिकका चिकित्सकलाई पनि मिलाएका थिए । साह पक्राउ परेसँगै क्यूरेड गराउन संलग्न चिकित्सकको पनि अब छिट्टै पहिचान गरिने प्रहरीले जनाएको छ ।

वीरगञ्जको बहुअरीका शिवशंकर यादवको नाममा सञ्चालित एसएस यादव क्लिनिकमा साहले सबै क्रियाकलाप गर्ने गरेका थिए । स्रोत अनुसार क्लिनिक यादवको नाममा सञ्चालित भएपनि उनि आउने गरेका छैनन् ।

लकडाउनका बेला लिङ्ग पहिचान गराउन छिमेकी बजार रक्सौलमा जान संम्भव नभएपछि यादवको क्लिनिकमा लिङ्ग पहिचान गराउन आउने गर्भवती महिलाहरुको भिड नै लाग्ने गरेको स्थानीय बताउँछन् ।

आफूहरुले कतिपटक सम्झाउँदा पनि स्वास्थ्यकर्मी साहले नमानेको उनकै संगै रहेको क्लिनिकका संचालकले बताए । पक्राउ परेका साहलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

पक्राउ परेका भ्रुण हत्या गराउने स्वास्थ्यकर्मीलाई छुटाउन सांसदको प्रयास असफल भएको प्रहरी श्रोतले जनाएको छ । यता स्वास्थ्यकर्मीलाई ७ दिन म्याद थप गरि हिरासतमा राखि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए ।

Back to top