वीरगञ्ज २२ असोज । नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ नैजिकिंदै जाँदा पर्सा प्रशासनले सतर्कता अपनाउँदै पर्व मनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार एउटा सूचना जारी गर्दै आउँदै गरेको हिन्दु धर्मावलम्बीको महान पर्व विजय दशमी तथा शुभ दिपावलीलाई मध्यनजर गर्दै पुजापाठ लगायतका कार्यहरु आफ्नै घरमा गर्न आग्रह गरेको हो ।
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले चाडवाडमा हुने भिडभाडलाई मध्यनजर गर्दै गहवामाई, बिन्दवासिनि, विर्तामाई, नगवालगायतका धार्मिक स्थलमा बली निषेध गर्ने समेत निर्णय गरेको छ ।
धार्मिक आस्थामा आँच नपुग्ने गरी भिडभाड नगरी शक्ति पिठहरुमा नित्य, पूजा अर्चना मात्रै गर्न दिने भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले सार्बजनिक स्थान, खुला मैदान, सडक लगायतका क्षेत्रमा दुर्गा झाँकी तथा पण्डाल बनाउन नदिने निर्णय गरेको छ ।
वीरगञ्ज बजारको मुख्य क्षेत्रमा फुलपाथीदेखी नवमीसम्म सवारी साधन सञ्चालनमा आवश्यक्ता अनुसार रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत बिनय श्रीवास्तबले जानकारी दिए ।
त्यसैगरी भिडभाड हुने किसिमका मेला, महोत्सब तथा जात्रा लगाउन पाइने छैन । विभिन्न शक्ति पिठ तथा मठ मन्दिरमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी परिचालन गर्ने निर्णय समेत भएको श्रीवास्तवले बताए ।
चाडपर्वको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।