वीरगञ्ज २२ असोज । हात र खुट्टा बाँधिएको अवस्थामा पर्साको ग्रामिण क्षेत्रबाट दुई जनाको शव बरामद भएको छ । बितेको दुई दिनमा पर्साको कालिकामाई गाउँपालिका र जगरनाथपुर गाउँपालिकाबाट शंकास्पद अवस्थामा एक महिला र एक पुरुषको शव बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ स्थित गंगोल नदीमा बुधबार विहान ११ बजे एक महिलाको शव फेला परेको हो ।
गाउँपालिकाको वडा नम्बर २ भेडिहारी र वडा नम्बर ४ प्रशुरामपुरको बिचमा पर्ने गंगोल नदीमा अन्दाजी ३४ बर्षिय महिलाको शव नग्न अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ ।
हात, खुँट्टा र मुख बान्धेका अवस्थामा शव फेला परेको महिलाको पहिचान खुलन सकेकाे छैन ।
त्यसैगरी पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोला वडा नम्बर २ मा पनि प्रहरीले मंगलबार एउटा पुरुषको शव फेला पारेको थियो । बोरामा कसेर राखिएको अवस्थामा प्रहरीले फेला परेको शवको पनि पहिचान खुल्न सकेको छैन ।
नहरमा बगेर आएको शवका बारेमा नजिकैको गाउँहरुमा सोधपुछ तथा हुलिया पहिचान गराईएपनि कसैले चिन्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
पर्साका प्रहरी नायव उपरीक्षक एवम् पर्सा प्रहरीका प्रवक्ता मनोजित कुँवरले फेला परेका दुवै शवलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाईएको जानकारी दिए ।
उनले घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेको बताए । पछिल्लो समय पर्साको ग्रामिण क्षेत्रमा अपराधका घट्नाहरुमा वृद्धि भएको छ ।