×

वीरगञ्ज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित श्रद्धालु तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार, सचिव पप्पु गुप्ता तथा कोषाध्यक्ष रवि अग्रवाल सम्मिलित समितिले गठन गरेको उपसमितिका संयोजक श्याम गुप्ताको नेतृत्वमा शिविर आयोजना गरिएको थियो। शिविरको उद्घाटन चिकित्सक डा. मनोज गुप्ताले गरेका थिए।

समितिका सचिव पप्पु गुप्ताका अनुसार प्रत्येक वर्ष सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य शिविर यस वर्ष पनि असार ३२ गते आयोजना हुने गहवामाई रथयात्राको अवसर पारेर सञ्चालन गरिएको हो। शिविरबाट कुल ३५५ जना श्रद्धालु तथा सर्वसाधारण लाभान्वित भएका छन्।

शिविरमा आँखा, दाँत, हाडजोर्नी तथा कान रोगसम्बन्धी परीक्षण एवं परामर्शका साथै मधुमेह र थाइराइडसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

उपसमितिका संयोजक श्याम गुप्ताले शिविरका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको संस्थाको पहलमा निःशुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाइएको जानकारी दिए।

कार्यक्रम सफल बनाउन सहसंयोजक अनुप कुमार अग्रवाल तथा समितिका सदस्यहरू ओशन गुप्ता, राजन गुप्ता, ललित अग्रवाल, विवेक कुमार, मुन्ना सर्राफलगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए।

समितिले आगामी दिनमा पनि धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै यस्ता जनहितका कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

Back to top