×

वीरगन्ज १८ असोज । पार्टी प्यालेस व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।

देशभर रहेका सात हजार पार्टी प्यालेस व्यवसाय बन्द हुँदा ५० हजारभन्दा बढीको रोजगारी गुमेको र लाखौंको संख्यामा जनजीवन प्रभावित भएको भन्दै व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन् ।

वीरगन्जमा रहेको टाउन हल पार्टी प्यालेसका संचालक भोला कलवारले यात्रा डेलीसंग कुरागर्दै राज्यले तत्काल निर्वाध रुपमा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका छन ।

भौतिक दूरी कायम गर्दै सरकारले तोकेको मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न माग गर्दासमेत व्यवसाय बन्द गरिनुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले पार्टी प्यालेस खोल्दा संक्रमण फैलिन्छ भन्‍ने भ्रममा सरकार रहेको बताए । ठूला होटल तथा रेस्टुरेन्टका पार्टी हलहरु सञ्चालन हुँदा कोरोना नसर्ने तर पार्टी प्यालेसका हल सञ्चालन गर्दा कोरोना सर्ने कुरा आफूहरुले नमान्‍ने पनि कलवारले बताए ।

करिब सात महिनायता पार्टी प्यालेस बन्द हुँदा व्यवसायबाटै पलायन हुने स्थितिमा आफूहरु पुगेको बताए । अहिले देशभर दुई सयभन्दा बढी व्यवसायी पलायन भइसकेको बताउँदै अझ बढी क्षति हुने देखिएको बताए ।

५० हजार भन्दा बढीको रोजगारी गुम्‍ने मात्र नभएर सरकारले वार्षिक दुई अर्बभन्दा बढी राजस्वसमेत गुमाएको उनको भनाइ छ । त्यस्तै पछिल्लो समय आफूहरुसँग कर्मचारीका लागि तलब खुवाउनसमेत पुँजी अभाव भएको उनले बताए । त्यसबाहेक पार्टी प्यालेस व्यवसाय सञ्चालन नहुँदा कृषि उत्पादनको खपत घटेको र बजारमा महँगी बढेको उनले दाबी गरे ।

कुल कृषि उत्पादनको २५ प्रतिशत पार्टी प्यालेस व्यवसायमा खपत हुँदै आएको छ । यसबाट अप्रत्यक्ष रुपमा लाखौंको रोजगारी प्रभावित भएको उनले बताए । बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरु सबैभन्दा बढी समस्यामा परेको पनि उनको भनाइ छ । अन्य उद्योग व्यवसायसरह यो व्यवसायलाई लिन पनि प्रवक्ता बलवारले सरकारसँग आग्रह गरे । संकटका बेला पार्टी प्यालेस व्यवसायीहरुले सरकारबाट कुनै पनि राहत पाउन नसकेको गुनासो उनको छ ।

व्यवसायीहरुले आफुहरु कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले तोकेको मापदण्डसहित उच्च सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न सक्षम रहेको पनि बताएका छन् । सरकारले आर्थिक कारोबारलाई चलायमान गराउन र व्यवसायबाट पलायन हुने स्थिति आउन नदिन पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुले बताएका हुन् ।

Back to top