×

वीरगन्ज १८ असोज । म्याद गुज्रेका हर्लिक्स, बर्नभिटालगायतका खाद्य वस्तु बजारमा पठाउने समूहलाई वाणिज्य विभागले धरौटीमा रिहा गरेको छ । पक्राउ परेकी पुष्पादेवी अग्रवालसहित ७ जनालाई रिहा गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार भारतीय नागरिक रोनक बोथ्रा भने हिरासतमा नै छन् । आज १२ खबर डट.कमले खबर राखेको छ ।

व्यापारिक समूह विशाल ग्रुपले म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ म्याद राखेर बेच्दै आएको भेटिएको पाइएपछि प्रहरी र विभागका अधिकारीलाई आठजनालाई पक्राउ गरेका थिए । विभागतको हिरासतमा रहेकी पुष्पादेवीलाई एककरोड रुपैयाँ जमानीमा हिरासतबाट रिहा गरिएको हो भने बाँकी सातजनालाई विभागमा दैनिक हाजिर हुनेगरी रिहा गरिएको सुवेदीले जानकारी दिए ।

विशाल ग्रुपले आयात गर्दै आएको ओरियो बिस्कुट, स्निकर चकलेट, बालबालिकाले खाने बर्नभिटा, आलु चिप्स जस्ता म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ म्याद राख्दै गरेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेको हो । अनुसन्धानको क्रममा कम्तिमा पनि २५ करोड बराबरका म्याद नाघेका खाद्यवस्तुमा नयाँ म्याद राखेको पाइएको स्रोतले जानकारी दियो ।

“कम्तिमा पनि २५ करोड बराबरका खाद्य सामग्रीमा नयाँ लेवलिङ गरेको पाइयो,” अनुसन्धानमा रहेका एक अधिकृतले भने, “त्यसअघि पनि यस्तो बदमासी भएको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान हुँदैछ ।” उनले यो कालोबजारीमात्रै नभएर मानव स्वास्थ्यसँग खेलवाड गरेको बताए । “पाँचवटा कोठा भएको गोदाम, अर्को तीनतलाको गोदाम फेला पारेका थियौं,” एक प्रहरी अधिकारीले भने, “ट्वाइलेटमा समेत खाद्य सामग्री थुपारेको पाइयो । अहिले ती सबै गोदाम सिल गरिएको छ । यसअघि बजारमा पठाइएका सामान पनि त्यस्तै थिए कि भनेर अनुसन्धान हुँदैछ ।”

Back to top