×

वीरगन्ज १८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भए पनि लकडाउन नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ।

यही असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय संक्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको लकडाउन गर्ने योजना नभएको स्पष्ट पारे।

सक्रिय संक्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटेलमा राख्ने योजना सरकारले राखेको छ। सरकारले गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन तथा भदौ ४ गतेदेखि अन्तिम सातासम्म काठमाडौं लगायत अन्य जिल्लामा निषेधाज्ञा लागु गरेको थियो।

उनका अनुसार सक्रिय २५ हजार संक्रमित भएका खण्डमा पाँच हजार लक्षण भएका संक्रमित रहने छन्। तिनलाई आवश्यक शय्या सरकारसँग छ।

‘मुलुकमा फेरि पनि लकडाउन गर्ने योजना रहेको छैन’, उनले भने, ‘अहिलेकै अवस्थामा संक्रमित बढ्न थालेपछि सरकार संरचनाले थेग्न नसक्ने भनेको हो। तैपनि हामी निजी स्वास्थ्य संघसंस्थासँगको सहकार्यमा संक्रमितको उपचार गर्छौँ।’

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिसँग भेटी लकडाउन तत्काल नहुने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरे।

व्यवसायीले विस्तारै उद्योगधन्दा खुल्न लागेका अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको बताए। अहिले लकडाउन खुलेसँगै सबै क्षेत्र खुला गरिएको छ। यही असोज १ गतेदेखि लामो दूरीका यातायात सेवा र असोज ५ गतेदेखि हवाई सेवा सञ्चालन गरिएको छ।

 

Back to top