×

वीरगञ्ज १६ असोज । पर्सा प्रहरीले कुटपिटमा संलग्न आरोपीलाई उन्मुक्ति दिएको आरोप लागेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्जमा एक जना वृद्ध महिला, तिन जना युवक र एक तिन वर्षीय बालिकालाई कुटपिट गरी घाइते बनाउने समुहलाई कारवाही नगरी उन्मुक्ति दिएको पिडित परिवारले आरोप लगाएका हुन् ।

शुक्रबार वीरगञ्जस्थति नेपाली पत्रकार महासंघ पर्साको सभाहलमा एउटा पत्रकार सम्मेलनको आयोजना गरी पिडित परिवारका सदस्यहरुले वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपककुमार साहले कुटपिट गर्ने व्यक्तिको पक्ष लिएर उन्मुक्ति दिएको आरोप लगाए ।

प्रहरीले घरमा छिरेर कुटपिट गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बस्ने इमरान अन्सारी, इरफान अन्सारी, खुरसिद अन्सारी, नुरसिद अन्सारी, ग्यासुदीन मियाँ, मनिफ अन्सारी र कमरोदा अन्सारीलाई पक्राउ गरी बिना कारवाही रिहा गरेको पिडित राकेश साहले बताए ।

उनीहरुले आफ्नो घरमा प्रवेश गरेर तिन वर्षीय छोरी आरुषी साह, भाई सुजित साह, आमा धर्मशिला देवी, स्थानीय अजय पासवान र निरज श्रेष्ठलाई कुटपिट गरेको राकेशको गुनासो छ ।

कुटपिटमा परेका मध्ये धर्मशिला देवी र सुजित साह गम्भीर रुपले घाइते बनेका छन् । उनीहरुको वीरगञ्जका दुई अस्पतालहरुमा उपचार चलिरहेको छ ।

आरोपीहरुले स्थानीय रमेश पासवानका छोरा अजय पासवानलाई कुटपिट गरिरहेको देखेर छोडएपछि आफ्नो परिवारमाथि आक्रमण भएको राकेशले बताए ।

'आरोपीहरुले असोज १३ गते बिहान साढे ८ बजे तिर अजय पासवानलाई कुटपिट गरिरहेका थिए, त्यो देखेपछि मेरो भाई सुजीतले उनीहरुको झगडा छोडाएको थियो,' पत्रकार सम्मलेनमा राकेशले भने, 'पछि उनीहरु हाम्रो घरमै हुल बनाई पुगेर मरो छोरीसहित आमा, भाई र स्थानीय छिमेकिहरुलाई समेत कुटपिट गरी घाइते गम्भीर रुपमा बनाए ।'

राकेशले कुटपिट गर्ने विरुद्ध किटानी जाहेरी दिँदा समेत प्रहरीले उनीहरुमाथि कुनै कारवाही नगरेको बताए । उनले प्रहरीले उनीहरुलाई पक्राउ गरेपनि केहि घण्टा भित्रा कारवाही नै नगरी छोडेपछि आफुहरुसँग अन्याय भएको गुनासो गरे ।

घाइतेहरुको उपचार भइरहेको बेलासमेत आक्रमण गर्नेलाई उन्मुति दिएर घट्ना दबाउने खेलमा प्रहरी लागेको उनको भनाई छ ।

पिडितहरुले असोज १८ गते आईतबारसम्म प्रहरीले जाहेरी नलिए आफुहरु स्थानीय न्यायका पक्षधरको बीचमा जाने र सडक आन्दोलनसमेत गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा स्थानिय प्रहलाद गुप्तालगायतको सहभागिता रहेको थियो ।

यता वडा प्रहरी कार्यालय श्रीपुरकका प्रहरी निरीक्षक दीपककुमार साहले कुनैपनि आरोपीलाई उन्मुक्ति नदिएको बताए । उनले दोषीहरुलाई सधै प्रहरीमा आएर हाजरी गर्नेगरी तारेखमा रिहा गरिएको जानकारी दिए ।

प्रनि साहले घट्ना बारे आफुले बुझ्न दुवै पक्षलाई बोलाएर कुराकानी गर्न खोजेपनि पिडित पक्ष नआईदिएको बताए । उनले प्रहरीले कुनैपनि दोषीलाई उन्मुक्ति नदिने दावी गर्दै छिट्टै कारवाही गरिने जानकारी दिए ।

Back to top