वीरगञ्ज १५ असोज । नक्कली प्रहरी इन्स्पेक्टर बनेर लोक सेवा आयोगको फर्जी परिक्षा सञ्चालन गराई रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित चौधरी टोल बस्ने अजय कुमार राय (यादव) रहेका छन् ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निर्मल पनेरुको नेतृत्वमा खटेको टोलिले उनलाई बुधबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित देव पार्टी प्यालेसमा प्रहरीको विभिन्न पदको नक्कली परिक्षा सञ्चालन गराई रहेको अवस्थामा पक्राउ गरेको हो ।
बुधबार दिउँसो पार्टी प्यालेसमा छापा मार्दा यादव केहि व्यक्तिहरुको सहयोगमा प्रहरी निरीक्षकको वर्दी लगाएर परिक्षा सञ्चालन गराई रहेको प्रहरीले जनाएको छ ।
[caption id="attachment_37929" align="aligncenter" width="1200"]
नक्कली प्रहरी उपरीक्षक बनि फर्जी परिक्षा सञ्चालन गर्ने अजय कुमार राय (यादव) । तस्विर : यात्रा डेली ।[/caption]
यादवले पर्सा, बारा र सर्लाहीका २ महिलासहित २१ जनालाई प्रहरीको विभिन्न पदका लागि परिक्षामा सहभागी गराई मोटो रकम समेत असुलेका छन् । उनले परिक्षामा सहभागी भएकाहरुसँग एक हजारदेखि ३५ हजारसम्म असुलेको प्रहरीले जनाएको छ ।
परिक्षामा पास गराई जागिर लगाई दिन्छु भनेर यादवले उनीहरुसँग एक लाख पचास हजार रुपैयाँ माग गरेका थिए । उनले परिक्षा फारम भर्न सबैबाट जनही एक हजार र कुल रकमको केहि भाग परिक्षा पुर्व नै उपलब्ध गराउन भने अनुसार ११ जनाले उनलाई एक हजारदेखि ३५ हजारसम्म दिएको जिल्ला प्रहारी कार्यालय पर्साका प्रहारी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले बताए ।
[caption id="attachment_37924" align="aligncenter" width="1200"]
राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको नक्कली प्रवेश पत्र र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदका लागि भन्दै अजयले बनाएको प्रश्नपत्र ।[/caption]
यादवले लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको फर्जी लिखित परिक्षा सञ्चालन गरिरहेका थिए ।
विगत ९ महिनादेखि नक्कली इन्स्पेक्टर बनेर यादव प्रहरी चौकी परवानीपुर र इलाका प्रहरी कार्यालय नगवामा समेत पुग्ने गरेको डिएसपी कुँवरले बताए । प्रहरीलाई प्रलोभनमा पार्न उनले देव पार्टी प्यालेसका सञ्चालक रवी चौरसियाको हातबाट एक थान कम्प्युटरपनि सहयोग गराएका थिए । त्यसैगरी उनले प्रहरी चौकी परवानीपुरबाट विभिन्न समयमा प्रहरीको गाडी समेत प्रयोग गरेको खुलेको छ ।
यादवले आफ्नो गाउँको दुई जना छिमेकीलाई समेत ठगेका छन् । उनले छिमेमा बस्ने दुई जना महिलालाईपनि जागिर लगाई दिने प्रलोभन देखाएर परिक्षामा सहभागी गराएका थिए ।
[caption id="attachment_37927" align="aligncenter" width="1200"]
प्रहरी सहायक निरीक्षकको नक्कली प्रवेश पत्र ।[/caption]
'हामीलाई दाईले प्रहरीमा जागिर लगाई दिन्छु नानि भनेर दुई दिन अगाडी फारम भर्न लगाउनुभयो, हामीले राम्रो अवसर छ भनेर सहभागी हुन् पुग्यौं,' नाम नखुलाउने सर्तमा यादवकी छिमेकीले भनिन, 'पछि प्रहरीले आएर उनलाई पक्राउ गरेपछि हामी ठगिएका छौं भनेर बुझ्यौं । दाईलाई गाउँमा सबैले प्रहरीनै मान्छन, उनि बेला-बेलामा प्रहारीको गाडीमा चढेरसमेत गाउँ आउने गर्थे । अब उनि ठग हुन् भनेर हामीलाई कसरि थाह हुन्छ?'
प्रहरीले देव पार्टी प्यालेसबाट प्रहरी सहायक निरीक्षकको दुई थान प्रवेश पत्र थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको २१ थान प्रवेश पत्र र २६ थान प्रश्न पत्रपनि बरामद गरेको छ । त्यसैगरी खरिदारको एक थान प्रवेश पत्रपनि बरमाद गरिएको डिएसपी कुँवरले जानकारी दिए ।
पार्टी प्यालेसबाट प्रहरीले परिक्षा सञ्चालन गराई रहेको अवस्थामा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने हिरालाल महतो, २८ वर्षीय बसन्त चौधरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने २१ वर्षीय रवी कुमार चौरसिया, पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवा बस्ने ४७ वर्षीय शिव नारायण चौरसिया, वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ रानीघाट बस्ने २५ वर्षीय रामजी चौरसियालाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले थप पक्राउ पारिएकाहरुको संलग्नता बारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेका यादवले सबै योजना आफुले एक्लै बनाएको दावी गरेका छन् । उनले पक्राउ परेका अन्यहरुलाई पनि झुटो बोलि फसाएको बयान दिएको डिएसपी कुँवरले बताए ।
यादव यसअघि पनि २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते गर्ने मुद्दामा वीरगञ्ज कारागार भित्र १ सय १० दिन सजाय काटिसकेका छन् । योजनामा देव पार्टी प्यालेसका सञ्चालकहरुकोपनि हात हुनसक्ने स्थानीयहरुले आरोप लगाएका छन् ।