×

वीरगञ्ज १३ असोज । वीरगञ्जको रजतजयन्ती चोक नजिकै रहेको नेपाल इण्डो हस्पिटलले आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाहरुको नि:शुल्क उपचार गर्ने अभियान अन्तर्गत आज पनि एक शिशुको नि:शुल्क उपचार गरेको छ ।

वीरगञ्जको घुसुकपुर निवासी अन्जुम खातुनको २ महिने बच्चाको उपचार अस्पतालले नि:शुल्क गरेको हो । जंडिसबाट पीडित बच्चालाई एनआईसीयूमा राखेर उपचार गरिएको थियो ।

२ महिना पहिला शल्यकृयामार्फत त्यही अस्पतालमा जन्मिएको शिशुमा अहिले जण्डिस देखिएपछि अस्पताल भर्ना गरिएको थियो । खातुनले ४ छोरी पछि अहिले छोरा जन्माएकी थिइन् ।

केही दिनदेखि अस्पतालमै राखेर उपचार भइरहेको र आर्थिक अवस्थाका कारण पैसा तिर्न नसकेको पाएपछि आफूले बच्चाको उपचारमा लागेको सबै खर्च मिनाहा गरिदिएको अस्पतालका प्रमुख चन्द्रशेखर (डा.शेखर) ठाकुरले बताए ।

खातुनका श्रीमान मुस्तकिम मन्सुरीले दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका छन् । शिशुको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर पाएको भन्दै अस्पतालका प्रमुख शेखरले शिशुको परिवारका एक जनालाई अस्पतालमै रोजगारीको व्यवस्थापनि मिलाउने अस्पतालका मेडिकल कोर्डिनेटर करण पटेलले बताए ।

Back to top