×

वीरगञ्ज ९ असोज । रौतहटको विजय राम मृत्यु प्रकरणमा छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएपछि जिल्लाका एसपीदेखि सईसम्म कारवाहीमा परेका छन् ।

विजय रामको प्रहरीको यातानका कारण मृत्यु भएको आरोप लागेपछि उनका परिवारजन निस्पक्ष छानविनसहित प्रहरीमाथि कारवाहीको माग गरेका थिए ।

गृह मन्त्रालयद्वारा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उप–सचिव दोरेन्द्र निरौलाको नेतृत्वमा गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा अत्याधिक यातना दिएको कारण विजय रामको मृत्यु भएको निष्कर्ष निकालिएको छ ।

समितिले घट्नामा संलग्न रौतहटका तत्कालिन प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकसहित ५ जनालाई कारवाही गर्ने सिफारिस गरेको बुझिएको छ । प्रतिवेदनमा एसपी र डिएसपीसहित सईपनि दोषी देखिएका छन् ।

रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय रामलाई यातना दिइएको निष्कर्ष निकालेपछि विभागीय कारवाहीको तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

तत्कालिन एसपी रविराज खड्का, डिएसपी ज्ञानकुमार महतो र सई वीरेन्द्र यादवलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको हो ।

रौतहटको गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको हत्या गरेको अभियोगमा गत साउन ३२ गते पक्राउ गरिएका १९ वर्षीय विजय रामलाई हिरासतभित्रै यातना दिएपछि उनको मृत्यू भएको थियो ।

यातना पश्चात विजय रामको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई थप उपचारकालागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षक अस्पतालमा ल्याइएको थियो । उनले उपचारको क्रममा आफ्नो ज्यान गुमाएका थिए । उपचारमा संलग्न चिकित्सकलेसमेत चरम यातनाका कारण रामको मृत्यु भएको बताउँदै आएका छन् ।

मृत्यूअघि नै विजय रामले एउटा भिडियो सन्देश मार्फत आफूलाई निरञ्जन हत्यामा आरोप स्वीकार गर्न प्रहरीले यातना दिरहेको बताएका थिए । प्रहरीले आफुलाई लठी, पाईपले पिट्नुका साथ विजुलीको करेन्टसमेत लगाइरहेको उनले भिडीयो मार्फत सन्देश दिएका थिए ।

सोहि भिडीयो रामले दिएको बयानलाई आधार मानेर गृह मन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

समितिले हिरासतमा गएर यातना दिने प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियाँलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ । उनीहरुलाई यसअघिनै प्रदेश नं. २ प्रहरी कार्यालयले १६ भदौंमा निलम्बन गरिसकेको छ ।

हत्या गरिएका विजयका बुबा पनिलाल रामले गत २५ भदौंमा तत्कालीन एसपी खड्का, डीएसपी महतो, सई यादवसहित ६ जनालाई प्रतिवादी बनाएर यातना तथा ज्यानसम्बन्धी कसूरमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत किटानी जाहेरीसमेत दर्ता गराएका थिए ।

पछिल्लो समय प्रदेश नम्बर २ मा दलितहरुमाथि विभेद र अत्याचारका घट्नहरु बढ्दै गएका छन् ।

Back to top