वीरगञ्ज ५ असोज । पूल निर्माणको विषयलाई लिएर दुई गाउँका स्थानिय बीच झडप हुँदा आधा दर्जन व्यक्ति घाइते भएका छन् । बारा र रौतहट जिल्लाको सिमानामा पर्ने अरूवा खोलामा निर्माणधिन पुलको विषयमा झडप भएको हो ।
बाराको आदर्श कोतवाल गाउँपालिकामा पर्ने रुपौलिया गाउँ र रौतहटको विजयपुर नगरपालिकामा पर्ने फतवाको गाउँको सिमानामा पर्ने अरुवा नदीमा निर्माणाधानि पुलको विषयमा विवाद हुँदा भएको झडपको क्रममा दुवै पक्ष गरी आधा दर्जनभनदा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पूल निर्माण हुँदा जग्गा मिचिएको र खोलाको मुहान परिवर्तन भई रुपौलिया गाउँ डुबानमा पर्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपमा दुवै पक्षका व्यक्ति घाइते भएका छन् भने पूल निर्माण स्थलमा राखिएको मिक्सचरमा समेत आगलागी भएको छ ।
केही वर्षदेखि विवाद बनेको पुलको निर्माण अचानक सुरुभए पछि विवाद सृजना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।
हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा पुल निर्माणाधिन अवस्थामा छ । विवादकै कारण पुल निर्माणले गति लिन सकेको छैन । अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गर्दै आएको स्थानीय नुर आलम बताउँछन् । तर रौतहटतर्फका बासिन्दाले भने पुल तोकिएकै स्थानमा बन्नुपर्ने अडान राख्दै आएका छन् ।
समस्या समाधान नै नगरी सोमबार पुल निर्माण कार्य सुरु गरिएपछि विवाद भएको थियो । विवादले उग्ररुप लिँदा दुबैतिरका स्थानीय बासिन्दा एक अर्कामाथि जाइलागेका थिए ।
विवाद पश्चात भारी मात्रामा प्रहरी परिचालन गरी स्थित नियन्त्रणमा लिईएको थियो । दुवै पक्ष छलफल मार्फत समाधान खोज्न सहमत भएका छन् ।