वीरगञ्ज २६ भदौं । पछिल्लो समयसम्म कोरोनाभाइरस सङ्क्रमणको हट्स्पट रहेको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले नै निषेधाज्ञाको उलंघन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाको सदरमुकाम वीरगञ्जमा लगाएको निषेधाज्ञाको आफै उलंघन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ् र प्रहरी उपरीक्षक गङ्गा पन्त एउटा कार्यक्रममा सहभागी भएका छन् ।
बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको सभापतित्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जमा साउन १० गतेदेखि जारी रहेको निषेधाज्ञालाई पाँचौं पटककालागि थप्दै भदौं ३१ सम्म लम्याएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले एउटा सूचना जारी गर्दै निषेधाज्ञाको समयमा तोकेको मापदण्डलाई आफै उलंघन गर्दै प्रमुख जिल्ला अधिकारी र पर्साकी प्रहरी उपरिक्षण गङ्गा पन्त शुक्रबार एउटा कार्यक्रममा सहभागी भएका छन् ।
सुरक्षा समितिको बैठकपछि प्रशासनले जारी गरेको सूचना अनुसार कुनैपनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्ने, मानिसहरु भेला जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गने वा चार जना भन्दा बढी व्यक्तिलाई एक ठाउँमा जम्म हुनबाट बञ्चित गरिएको थियो । बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिपनि सहभागी थिए ।
तर, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र प्रहरी उपरीक्षक गङ्गा पन्त शुक्रबार सयौं जना सहभागी भएको कार्यक्रममा आफै पुगेर निषेधाज्ञाको उलंघन गरेका छन् ।
प्रजीअ तामाङ र एसपी पन्त नेशनल मेडिकल कलेजले सुरु गरेको अस्थायी कोभिड अस्पतालको उद्घाटन गर्न पुगेका थिए । कार्यक्रममा सयौं जना भन्दा बढी सहभागी भएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल हुँदैछ ।
वीरगञ्जमा यसअघि सञ्चालित दुई अस्थायी कोभिड अस्पताल सुरु हुँदा कुनै उद्घाटन गरिएको थिएन । यता वीरगञ्जमा कोभिड सङ्क्रमितको संख्या घटेसँगै कोभिड अस्पतालहरुपनि खालि हुन थालेका छन् । कोभिड अस्पतालहरु खाली भइरहँदा अनावश्यक भिडभाड गरेर एउटा नयाँ कोभिड अस्पताल उद्घाटनको औचित्यमाथि स्थानीयले प्रश्न उठाउँन थालेका छन् ।
साउनको सुरुवातमा वीरगञ्जमा कोरोना सङ्क्रमितको संख्या बढेर आइसोलेशनको खाँचो परिरहेको बेला अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो विरामीलाई भर्नासमेत गर्न नमान्ने नेशनल मेडिकल कलेजले सुरु गरेको कोभिड अस्पताललाई स्थानीयहरुले राजनीतिक स्टन्टको नाम दिन थालेका छन् । उद्घाटनको तस्विरहरु बाहिर आएपछि समाज सञ्जालमा यस विषयमा विभिन्न किसिमको टिकाटिप्पणी समेत हुनलागेको छ ।
नेशनल मेडिकल कलेजले वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १६ नगवस्थित बाबा होटलमा ८ वटा भेनटीलेटर, २० वटा अईसियूसहित १७० बेड क्षमता भएको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।
उद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी, सशत्र प्रहरीका प्रमुख, वीरगञ्ज आर्मी व्यारकका प्रमुखलगायतको सहभागिता रहेकाे थियाे ।