×

वीरगञ्ज २६ भदौं । व्यवसायीहरुले उपभोक्तालाई ठगिरहेको गुनासोहरु आउँन थालेपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तिब्रता दिएको छ । गुनासोको आधारमा प्रशासनले विगत एक महिनामा उपभोक्ता ठग्ने, कालोबजारी गर्ने र म्याद गुज्रेको सामग्री विक्री गर्ने लगभग एक दर्जन व्यवसायीलाई कारवाही गरेको हो ।

प्रशासनले शुक्रबारपनि अनुगमन र कारवाहीलाई निरन्तरता दिँदै चार व्यवसायीहरुलाई कारवाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीले माईस्थान, लिंक रोड र नेशनल मेडिकल कलेज चौकमा रहेको विभिन्न कस्मेटिक,खाद्यन्न तथा किराना पसलहरुमा अनुगमन गर्दा चार पसले कारवाहीमा परेका हुन् ।

टोलीले माईस्थान २ नम्बर रोडस्थित शान्ति जरेनरल स्टोर्स, लिंक रोडस्थित खेमीसती जेनरल सप्लायर्स एण्ड ट्रेडर्स, नेशनल मेडिकल कलेज नजिकै रहेको श्याम कोल्ड स्टोर र तारा कस्मेटिक जेनरल स्टोरमा अनुगमन गर्ने क्रममा उपभोक्तालाई ठगेको पाएपछि कारवाही गरेको छ ।

प्रशासनले शान्ति जरेनरल स्टोर्स ५० हजार, खेमीसती जेनरल सप्लायर्स एण्ड ट्रेडर्स १० हजार, श्याम कोल्ड स्टोर ५ हजार र तारा कस्मेटिक जेनरल स्टोर ५ हजार जरिवाना गरेको थियो ।

व्यसायीहरुले मूल्य सूची नराखेको तथा खरिद विक्री वील उपलब्ध नगराएको र म्याद गुज्रेका सामग्रीहरु सञ्चितगरी राखेको पाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३९ बमोजिमको जरिवाना र कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै, जरिवाना तिराएर खाद्य वस्तुहरु कालोबाजारी तथा मूल्य बृद्धि नगरी बिक्री वितरण गर्ने भनी निर्देशन दिईएको र अब उप्रान्त त्यस्तो गरेको पाईकोमा कानून बमोजिम कारवाही गर्ने चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

Back to top