वीरगञ्ज २५ भदौं । वीरगञ्ज २५ भदौं । उपचारको आभावमा ज्यान गुमाएका बाराको कोल्हवी नगरपालिका ४ सपहीका २३ वर्षीय विक्रम चौधरीका आफ्न्तले अस्पताल भित्र प्रदर्शन गरेका छन् ।
मृतक चौधरीका आफन्तले अस्पतालको लापरवाहीका कारण ज्यान गुमाएका विक्रम चौधरीको घट्ना बारे सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । घट्ना बारे अनुसन्धान गर्न अस्पतालले गठन गरेको छानविन समिति मान्य नहुने उनीहरुले बताउँदै आएका छन् । उनीहरुले परिवारका सदस्यस, विज्ञ चिक्तिसकसहितकोको छानविन समिति गठन गर्न समेत माग गरेका छन् ।
त्यसैगरी उनीहरुले अस्पतालको सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्नुपर्ने र छानवीनमा ढिलासुस्ती गर्न नहुने माग राखेका छन् ।
प्रदर्शनमा सहभागी वीरगञ्जका स्थानीय सामाजिक अभियन्ता धीरज गुप्ताले अस्पतालले गठन गरेको छानविन समितिमा बाहिरको व्यक्ति नहुँदा त्यसले निकालेको प्रतिवेदन स्वीकार गर्न नसकिने बताए । उनले अस्पतालले आरोपीहरुलाई बचाउँन खोजिरहेको आरोपसमेत लगाएका छन् ।
अस्पतालले घट्ना बारे अनुसन्धान गर्न डा. राम पुकार साहको संयोजकत्वमा तिन सदस्यी छानविन समिति गठन गरेको थियो । जसमा अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसिया र सोहि अस्पतालमा कार्यरत अर्का चिकित्सक डा. सरोज कुमार सिंह सदस्य छन् ।
समितिलाई घट्नाको छानविन गर्न तिन दिने समय दिइएको थियो, जुन आज सकिँद छ । अस्पतालले आज घट्नाको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने छ । तर अस्पताल प्रशासनले मृतकको आफन्तसँग थप तिन दिनको समय माग गरेको आफन्तहरुको भनाइ छ ।
नारायणी अस्पतालका मेडिकल सुपारीटेन्डेन्ट डा. सञ्जय ठाकुरले अस्पतालले गठन गरेको छानविन समिति आन्तरिक भएको कारण प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने बताए । उनले मृतकका आफन्तहरुको अनुरोधमा आफुले छानविन समिति गठन गरेको बताउँदै थप कारवाहीका लागि स्थानीय प्रशासनसँग समन्वय गर्न सल्लहा दिए ।
'हामीले गठन गरेको छानविन समिति आन्तरिक थियो, त्यहाँबाट आएको प्रतिवेदनबाट आएको निष्कर्ष अनुसार हामीले कारवाहीपनि आन्तरिक हिसाबले नै गर्ने छौं,' डा. ठाकुरले भने, 'मृतकका आफन्तलाई थप कारवाही गर्नुपर्ने छ भने मन्त्रालयबाट आएको आदेश अनुसार स्थानीय प्रशासनसँग समन्वय गरेर छुट्टै छानविन समिति गठन गर्न सक्नु हुन्छ । हामी त्यसमा पूर्ण रुपले सहयोग गर्छौं ।'
यता मृतकक आफन्तले पर्साको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसँग समेत भेटघाट गरेर घट्नाको निस्पक्ष छानविन गर्न माग गरेका छन् । उनिहरुले बिहिबार जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी तामाङसँग भेटघाट गरेका थिए ।
भेटघाटमा प्रजीअ तामाङले घट्नाको छानविनका लागि प्रशासनले छुट्टै समिति गठन गर्ने प्रतिबद्दता व्यक्ति गरेको अभियन्ता गुप्ताले जानकारी दिए ।
भदौं २१ गते आइतबार दिउँसो अस्पताल भर्ना भएका चौधरीले उपचार नपाउँदा ज्यान गएको आफन्तजनले दावी गरेका छन् । छाति र श्वासप्रश्वासको समस्या देखिएपछि चौधरीलाई आइतबार दिउँसो अस्पताल पुर्याइएको थियो ।
नगरका विभिन्न निजि अस्पतालहरुले पिसिआर रिपोर्ट नभएको कारण भर्ना गर्न नमान्दा उनलाई नारायणी अस्पतालको सेमी आइसोलेशनमा भर्ना गरिएको थियो । तर, उनको कोभिड रिपोर्ट नआउँदै ज्यान गएको थियो ।
मृतकका आफन्तले हिजो अस्पताल विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरीसमेत दिएका छन् ।