वीरगञ्ज २५ भदौं । नारायणी अस्पतालको लापरवाहीका कारण त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र विरामी कोरोना संक्रमित हुने जोखिम बढेको छ ।
अस्पतालले प्रसुती गृहमा रहेका दुई सुत्केरी संक्रमितहरुको उचित व्यवस्थापन नगर्दा स्वास्थ्यकर्मी र अन्य विरामीमा समेत कोरोना संक्रमण फैलने जोखिम बढेको हो ।
नारायणीको प्रसुती गृहमा शल्यक्रिया मार्फत मंगलबार बच्चा जन्माएका दुई सुत्केरी महिला कोभिड पोजेटिभ भएका छन् । कोभिड पोजेटिभ भएपनि अस्पतालले उनीहरुको उचित व्यवस्थापन नगर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मी, सोहि कक्षमा रहेका अन्य विरामी र कुरुवाहरुमा संक्रमण फैलने सम्भावना बढेको छ । बच्चा जन्माएपछि दुवै महिलाको कोरोना परिक्षण गर्दा कोभिड पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएका दुवै महिला अहिलेपनि प्रसुती गृहमै रहेको गुनासो आएको छ । उनीहरुले अन्य विरामीहरुले प्रयोग गर्ने सौचालय समेत प्रयोग गर्ने गरेको त्यहाँ रहेका एक विरामीले बताए ।
'प्रसव पिडाका कारण उहाँहरुलाई ३-४ दिन अगाडी अस्पताल भर्ना गरिएको थियो, अनि मंगलबार शल्यक्रिया मार्फत उहाँहरुले बच्चा जन्माउनु भयो,' सोहि वार्डमा रहेका एक विरामीले भने, 'बच्चा जन्माएपछि उहाँहरुको परिक्षण गर्दा कोभिड पोजेटिभ भएपनि अहिलेसम्म उहाँहरुलाई हामीसँगै एउटै वार्डमा राखिएको छ ।'
उनिहरुले अन्यमा पनि कोरोना सार्ने भन्ने भय सृजना भएपछि केहि विरामीले भने आफुलाई डिस्चार्ज गराई अन्य अस्पतालमा भर्ना समेत गराएका छन् । अन्य अस्पतालमा भर्ना हुनगएका विरामीहरुको पिसिआर परिक्षणपनि नगरिएको स्रोतको दावी छ । अस्पताल प्रशासनलाई पटक-पटक गुनासो गर्दा समेत मतलब नगरेको उनीहरुले आरोप लगाएका छन् ।
नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियासँग बुझ्दा संक्रमितहरुको व्यवस्थापन गर्न अस्पतालले तयारी गरिरहेको जानकारी दिए । उनले संक्रमितहरुसँग नवजात सिसुपनि भएकोले अन्य ठाउँमा सार्न अफ्ठ्यारो भएको बताए ।