वीरगञ्ज २५ भदौं । पर्सा, बारा र रौतहटगरी थप १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट आएका २ सय ९० जनाको थ्रोट स्वाबका नमुनाहरुलाई परिक्षण गर्दा १६ जना कोभिड पोजेटिभ भएका हुन् ।
पाँच महिलासहति कोभिड पोजेटिभ भएका मध्ये पर्सा र बाराका ७/७ जना रहेका छन् भने रौतहटका २ जना रहेका छन् । उनीहरुमा ६ वर्षीय बालकदेखि ७४ वर्षीय वृद्धसमेत रहेका छन् ।
पर्सामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० र ११ मा एक/एक जना संक्रमित थपिएका छन् भने वडा नम्बर १३ र १६ मा दुई/दुई जना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नबिल बैंकमा कार्यरत एक थप एक कर्मचारीपनि कोभिड पोजेटिभ भएको नारायण अस्पतालले जनाएको छ ।
त्यसैगरी बारा जिल्लाको कोल्भी नगरपालिकाको वडा नम्बर ६ मा एक जना, महागढीमाई नगरपालिका वडा नम्बर ९ का दुई जना र वडा नम्बर २,३ र ८ का एक/एक जना र बारा जिल्लाकै बगुवनमा एक जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता तथा वरिष्ठ छाला रोग विशेषज्ञ डा. अतुलेशकुमार चौरसियाले जनाकारी दिए । रौतहटका दुवै संक्रमित गरुडा नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् ।
थपिएका संक्रमितहरुको सिटि भ्यालु १८ देखि ३० रहेको डा. चौरसियाले बताए । उनले २४ भन्दा कम सिटि भ्यालु भएका व्यक्तिले संक्रमण अरुमा फैलाउँने जोखिम बढी रहेको जानकारी दिए ।