×

वीरगञ्ज २४ भदौं । पर्सामा अत्यावश्यक औषधिहरुको आभाव सृजना भएको छ ।

विगत पाँच महिनादेखि देशमा लागेको निषेधाज्ञा र लकडाउनका कारण औषधि आयात र उत्पादनमा समस्या हुँदा जिल्लामा महत्वपूर्ण मानिने लगभग आधा दर्जन अत्यावश्यक औषधिहरुको आभाव सृजना भएको हो ।

कोरोनाभाइरसबाट कर्मचारीहरु संक्रमित हुँदा पर्सा र बारामा सञ्चालित कयौं उद्योग बन्द भएका छन् भने कयौं आंशिक रुपमा मात्र सञ्चालित छन् । यता अन्य मुलुकबाट आयात हुनुपर्ने औषधि समेत प्रयाप्त मात्रमा आउँन नसक्दा औषधिको आभाव सृजना व्यवसायीहरुले बताएका छन् ।

आभाव भएका औषधिहरु मध्ये सबैभन्दा धेरै माग अस्थालिन नामक औषधिको रहेको छ । स्वासप्रश्वासको समस्या भएका व्यक्तिहरुका लागि महत्वपूर्ण मानिने यो औषधि स्वास्थ्यकर्मीहरुलाई समेत नपाएको गुनासो आएको छ । आस्थालिनसँगै डेक्सामेथासन, डेरिफाइलिन, ड्रोटाभेरिन, साल्बुटामोल रेस्पिरेटरी सोलुसनलगायतका औषधीको पनि अभाव देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

जीवनरक्षक औषधीहरुको अभाव हुँदा कोरोनाको उपचारका लागि अस्पताल भर्ना भएका दिर्घ रोगीहरुको उपचारमा समस्या भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए ।

अस्थालिन दमका रोगीहरुले प्रयोग गर्ने औषधि हो । यसले स्वास फेर्नलाई सजिलो बनाउँने भएकाले कोरोना संक्रमितहरुका लागिपनि प्रयोग गर्ने गरिएको छ । अस्थालिन हालेर वाफ दिँदा आईसीयूमा भएका बिरामीलाई समेत श्वासप्रश्वासमा सहज हुने गरेको उपचारमा संलग्न चिकित्कसको अनुभव छ ।

औषधि आभाव भएपछि स्थानीय सञ्चारकर्मी अमित अग्रवाल, नेकपाका युवा नेता सन्तोष पटेललगायत स्थानीय केहि सामाजिक अभियान्ताहरुले छिमेकी मुलक भारतको रक्सौल शहरबाट मगाएर नि:शुल्क उपलब्ध गराएपनि त्यो प्रयाप्त हुनसकेको छैन ।

औषधि आभाव भएपछि केहि व्यवसायीले यसको कालोबजारी समेत सुरु गरेको सेवाग्राहीहरुको गुनासो छ ।

Back to top