वीरगञ्ज २४ भदौं । सामाजिक सञ्जाल फेसबुकमा सांसद् र नगरप्रमुखका बारे अश्लिल शब्द प्रयोग गरेर पोष्ट लेखेको भन्दै वीरगञ्जबाट एक युवक पक्राउ परेका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको बारेमा अश्लिल शब्द प्रयोग गरेर फेसबुकमा पोष्ट लेखेको आरोपमा पर्सा प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी असलम अन्सारी रहेका छन् । उनले फेसबुममा फेक आईडी बनाएर सांसद् यादव र नगरप्रमुख सरावगीको तस्विर राख्दै अश्लिल शब्द प्रयोग गरेर पोष्ट लेखेका थिए ।
अन्सारीले शनिबार आयुष राज नाम गरेको फेसबुक आइडीबाट सांसद् यादव र नगरप्रमुख सरावगीको तस्विर राखेर परिवारका सदस्यका बारेमा आपत्ति जनक पोष्ट लेखेको प्रहरीले जनाएको छ ।
उनले लेखेको पोष्टका बारेमा स्थानीय व्यक्तिहरुले प्रहरीलाई गुनासो गरेपछि प्रहरीले अन्सारीलाई मंगलबार छपकैयासहित उनको घरबाट पक्राउ गरिएको थियो ।
प्रहरीले अन्सारी विरुद्ध अभद्र व्यहारको मुद्दा दर्ता गरेर म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयक प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनले घट्ना बारे थप अनुसन्धान भइरहेको बताए ।
अन्सारी नगरप्रमुख सरावगीको निर्वाचन क्याम्पेनिङमा समेत आबद्ध थिए । उनलाई केहि समय अगाडी नगरप्रमुख सरावगीले महानगरपालिका कार्यालयमा सहयोगीका रुपमा नियुक्ति समेत दिएको स्रोतले जानकारी दिएको छ ।