×

वीरगञ्ज २३ भदौं । नेपाल विद्यार्थी संघ ठाकुरराम क्याम्पस एकाई समितिले ठाकुरराम बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।

एकाई अध्यक्ष मनोज साहको नेतृत्वमा गएको टोलिले विभिन्न १४ सुत्रीय माग राख्दै क्याम्पसको प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको हो । संघले यसअघिनै क्याम्पस प्रमुख र स्टोरमा तालाबन्दी गरिसकेको थियो ।

क्याम्पस प्रशासानले आफुहरुद्वारा उठाइएको मागको सम्बोधन नभएपछि बाध्य भएर प्रशासन र लेखा शाखामापनि तालाबन्दी गर्नुपरेको एकाई अध्यक्ष साहले बताए ।

संघले सम्पूर्ण संकायको कक्षहरु अनलाइन प्रविधि मार्फत सञ्चालन गर्दै पठनपाठन सुरु गर्नुपर्ने, विद्यार्थीहरुको लागि आएको छात्रवृतिको रकम अबिलम्ब वितरण गर्नुपर्ने, छात्रावृतिको लागि भएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्नुपर्ने, अनलाइन कक्षा सञ्चालनका लागि क्याम्पसले विद्यार्थीहरुका लागि नेपाली दुरसञ्चार निगमसँग समन्वय गरेर नि:शुल्क डेटा उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

त्यसैगरी विद्यार्थीहरुका लागि पुस्तक अभिलम्ब उपलब्ध गराउनु पर्ने, विद्यार्थीहरुसँग लिँदै आएको शुल्क मिनाह गर्नुपर्ने, महिला छात्रावासमा जिर्ण हुँदै गएको भौतिक संरचनालाई मर्मत गराउनु पर्नेलगायत संघको माग रहेको छ ।

संघले अलपत्र परेको ठाकुरराम क्याम्पसको नयाँ भवन निर्माणको सम्पन्न गर्दै प्रशासनिक र शैक्षिक गतिविधिहरु सुरु गर्नुपर्ने र प्राध्यापकहरुका लागि रहेको आवास गृहलाई विश्वविद्यालयको मापदण्ड अनुसार मर्मत सम्भार गर्दै बस्न लायक बनाउनु पर्ने मागपनि गरेको छ ।

मागहरु पूरा नभएको खण्डमा कडा भन्दा कडा आन्दोलनको कदम उठाउन संघ तयार रहेको क्याम्पस प्रशासनलाई चेतवानी समेत दिएको छ ।

Back to top