×

वीरगञ्ज २२ भदाै । कोरोनाको बहानामा निजी अस्पतालले उपचार नगर्दा नागरिकले ज्यान गुमाइरहनु परेको बेला सरकारी अस्पतालले पनि कोरोनासँग लक्षण मिलेको भन्दै उपचार गर्न छाडेको छ ।

वीरगञ्जको नारायणी अस्पतालले सामान्य श्वासप्रश्वासका बिरामीको समयमै उपचार नगर्दा एक युवकले ज्यान गुमाएका छन् ।

आइतबार दिउँसो अस्पताल भर्ना भएका बाराको कोल्हवी नगरपालिका ४ सपहीका २३ वर्षीय विक्रम चौधरीको उपचार नपाउँदा ज्यान गएको आफन्तजनले दावी गरेका छन् । छाति र श्वासप्रश्वासको समस्या देखिएपछि चौधरीलाई आइतबार दिउँसो अस्पताल पुर्‍याइएको थियो ।

नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा कोभिडसँग लक्षण मिलेकाले पहिला पीसीआर परीक्षण गर्नुपर्ने भन्दै भर्ना नलिएपछि नारायणी अस्पताल लगिएको थियो ।

नारायणी अस्पतालको इमर्जेन्सि वार्डमा राखिएका चौधरीको पीसीआर परीक्षणका लागि श्वाव संकलन गरिएको भए पनि रिपोर्ट आउन ढिलो भए पछि उपचार अभावमा उनको ज्यान चौधरीका आफन्तको आरोप छ ।

दिउँसो भर्ना भएका चौधरीको राति ८ बजे ज्यान गएको थियो ।

उपचार लगत्तै श्वाव संकलन गरेर २ घण्टाभित्र रिपोर्ट आउने बताएको भए पनि आइतबार दिनभरजसो ल्याबका स्वास्थ्यकर्मी आन्दोलित हुँदा रिपोर्ट आउन ढिला भयो ।

श्वासप्रश्वासको समस्याले ग्रस्त भएका चौधरीलाई अक्सिजन दिइएको भए पनि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले अक्सिजनको मात्रा राम्रोसँग नहेरिदिँदा चौधरीको ज्यान गएको परिवारको दावी छ ।

ज्यान गइसकेपछि आएको चौधरीको पीसीआर रिपोर्ट भने नेगेटिभ छ । यस विषयमा बुझ्न नारायणी अस्पतालका मेडिकल सुपारीटेण्डेन्टलाई पटक-पटक सम्पर्क गर्न खोज्दापनि उनको फोन उठेन ।

[caption id="attachment_36807" align="aligncenter" width="2048"] मृतक विक्रम चौधरीको पिसिआर रिपोर्ट[/caption]

Back to top