×

वीरगञ्ज २२ भदाै । वीरगञ्जमा एक दिर्घ किड्नी रोगीको कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएको छ । भदौं १५ गते कोरोना संक्रमण पुष्टि भइ वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका उनको आज दिउँसो मृत्यु भएको हो ।

मृत्यु हुने व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साका ५४ वर्षीय पुरुष हुन् । उनको वीरगञ्ज हेल्थकेयरको आइसियू कक्षमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक एवं प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जनाकारी दिए ।

डा. चौरसियाका अनुसार मृतक पुरुष मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित थिए ।

वीरगञ्ज हेल्थ केयरमा ३ पटक मृगौलाको डायलायसिस पनि गरिएको थियो । तर विभिन्न दीर्घ रोगबाट ग्रसित उनमा कोभिड निमोनिया देखिएको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन नसकेको उपचारमा संलग्न चिकित्सकले बताए ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । साउन यतामा मात्रै ५३ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका ५९ जनामध्ये पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् । दुई जनाको भने ठेगाना खुलेको छैन ।

Back to top