वीरगञ्ज १८ भदौं । वीरगञ्जमा प्रदेश नम्बर २ कै पहिलो प्लाज्मा दान कार्यक्रम सम्पन्न भएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका व्यक्तिहरुले बीहिबार सामुहिक प्लाज्मा दान गरेका हुन् ।
नागरिक सरोकार समाज र नारायणी अस्पताल प्लाज्मा स्टडी ग्रुपको संयुक्त आयोजनामा भएको कार्यक्रममा पाँच जनाले प्लाज्मा दान गरेका थिए । उनीहरुले दान गरेको प्लाज्माबाट कोरोनाभाइरसबाट सङ्क्रमित गम्भीर किसिमका रोगीहरुको उपचार गरिनेछ ।
पछिल्लो समय वीरगञ्जमा प्लाज्मा बैंक स्थापनासँगै यहाँ यो प्रविधिबाट उपचार सुरु भएको छ । प्लाज्मा थेरेपीबाट पहिलो पटकनारायणी अस्पतालमा भदौं १४ गते सर्लाहीका एक पुरुषको उपचार गरिएको थियो । उपचारपछि उनको स्वास्थ्य सुधारोउन्मुख छ । उनलाई प्लाज्मा दान गर्ने नारायणी अस्पतालकै एक जना कर्मचारी थिए ।
सरोकार समाजद्वारा आयोजित सांकेतिक प्लाज्मा दान कार्यक्रममा कोरोना सङ्क्रमणबाट मुक्त भएका वडा अध्यक्षदेखि सञ्चारकर्मीले सेमत प्लाज्मा दान गरेको थिए । वडा नं. ४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु र सञ्चारकर्मी सुरेश बिडारीलगायत पाँच जनाले रक्तदान गरेको नागरिक सरोकार समाजका समन्वयकर्ता एवम् कार्यक्रम संयोजक ओमप्रकास सर्राफले जानकारी दिए ।
गम्भीर किसिमको कोरोना सङ्क्रमितहरुको प्लाज्मा थेरेपीबाट उपचार सुरु भएसँगै भेन्टिलेटरको भार कम हुने चिकित्सकहरुले बिस्वास लिएका छन् । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक एवम् कोभिड अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले प्लाज्मा थेरेपी प्रयोग गरेर संसारभर नै सकर्तामक नतिजा ल्याउन चिकित्सकहरु सफल भएको बताए ।
उनले नेपाल आजको कार्यक्रमबाट जम्मा गरिएको प्लाज्मालाई 'प्लाज्मा बैंक' मा सुरक्षित राखेर आवश्यक परेको बेला प्रयोग गरिने जानकारी दीए । 'पहिलो चरणमा यहाँ कोरोना सङ्क्रमितहरुमा कुनै लक्षण नदेखिएको कारण प्लाज्मा थेरेपीबाट त् के पारासितामोलबाट समेत उपचार गर्नुपर्ने आवश्यकता थिएन, सङ्क्रमितहरु आफै ठिक भइरहेका थिए,' डा. सिंहले भने, 'तर पछिल्लो पटक सङ्क्रमितहरुमा कडा लक्षण देखिएर प्लाज्मा थेरेपीबाट उपचार सुरु गरेका हौँ ।'
डा. सिंहले प्लाज्मा थेरेपीबाट उपचार गर्नुपर्ने हुँदा दाता खोजेर प्लाज्मा निकाल्न समय लाग्ने भएकोले ‘प्लाज्मा बैंक’ स्थापना गरिएको बताए । उनले प्लाज्मा बैंकमा थप उपकरण हरु आवश्यक रहेको बताउँदै प्लाज्मा सेपेरेटर उपलब्ध भए सम्पूर्ण प्रक्रिया सरल हुने बताए ।
एक व्यक्तिले दिएको प्लाज्माबाट ३ व्यक्तिसम्मको उपचार गर्न मिल्ने चिकित्सकहरुको दावी छ । बिहिबार संकलन गरिएको प्लाज्मा रक्तसञ्चार केन्द्र वीरगञ्जमा स्थापित प्लाज्मा बैंकमा राखिने छ । त्यस्तै थप १० जना कोरोना सङ्क्रमण मुक्त भएका व्यक्तिहरुलाई आवश्यक परेको बेलामा बोलाइने गरी राखिएको कार्यक्रमका संयोजक ओमप्रकास सर्राफले बताए । उनले धेरै प्लाज्मा जम्म गरेर राख्नु भन्दापनि आवश्यक परेको बेला बोलाएर अरु व्यक्तिहरुलाई बोलाउँने गरी अनकल लिस्टमा स्टेन्डबाई राखिएको भने ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, नेपाल चिकित्सक संघ पर्साका अध्यक्ष अरुण सिंह, सामाजिक अभियन्ता प्रकाश थारु, जसपाल सिंह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संस्कृतीका सह-संस्थापक एवम् उपाध्यक्ष आशुकुमार सर्राफलगायतको उपस्थिति रहेको थियो ।