×

वीरगञ्ज १४ भदौ । पर्सामा थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्तपालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा पर्सामा ४७ सहित थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालमा शनिबार राति विभिन्न स्थानबाट आएका स्वाबका नमुनाहरुलाई परिक्षण गर्दा पर्सा, बारा, मोरङ र काठमाडौँका व्यक्तिहरुमा गरी थप ७९ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

उनले सङ्क्रमण पुष्टि भएकामध्ये पर्साको विभिन्न पालिकाका ४७ जना, बाराका ३० जना र मोरङ र काठमाडौंका एक/एक जना रहेको बताए । थपिएका सङ्क्रमितमा ६ महिनाको शिशुदेखि ९७ वर्षको वृद्धपनि छन् ।

४ सय ४२ जनाको स्वाबलाई परीक्षण गर्दा ७९ जनाको नतिजा पोजेटिभ आएको उनले बताए ।

पर्सामा थपिएका सङ्क्रमित मध्ये वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका ३५ जना र पोखरिया नगरपालिकाको विभिन्न वडाका १२ जना रहेका छन् । त्यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिकाका २ जना, विश्रामपुर गाउँपालिकाका ३ जना, महागढ़ीमाई नगरपालिकाका २ जना र अन्य सबै कलैया उपमहानगरपालिकाका हुन् ।

शनिबार एक ७५ वर्षीय पुरुषको जिन एक्पर्ट प्रविधिबाट परिक्षण गर्दा पोजेटिभ देखिएको डा. चौरसियाले जानकारी दिए । जिन एक्पर्ट प्रविधिबाट शरीरमा कोरोनाभाइरस रहेको पता लागेपनि जीवित अथवा मृत अवस्थामा छ भन्ने कुरा पुष्टि हुदैन । त्यसकोलागि पिसिआर प्रविधिबाट परिक्षण गर्नुपर्ने हुन्छ ।

शुक्रबार भने ३ सय ८ जनाको परीक्षण गर्दा ५७ जनाको पोजेटिभ देखिएको थियो। पछिल्लो समय पर्सामा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। सँगै मृत्यु दर पनि बढेको छ।

Back to top