×

वीरगञ्ज १३ भदौ । रौतहटको हिरासतमा मृत्यु भएका विजयराम चमारको प्रकरणमा गृह मन्त्रालयले छानबिन थालेको छ ।

प्रहरी हिरासतमा रहेका रौतहटका विजयरामको प्रहरीको यातनाका कारण ज्यान गएपछि गृहले छानबिन थालेको हो । उनको मृत्युपछि आफन्तले निस्पक्ष छानबिन माग गर्दै विगत दुई दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।

गृहले छानबिनका लागि इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोगेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति समेत गठन गरेको छ ।

समितिमा प्रदेश प्रहरीको तर्फबाट प्रहरी निरिक्षक र रौतहट राष्ट्रिय अनुसन्धानका प्रमुख सदस्य रहने गरी समिति गठन गरिएको हो । विजयरामको मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो पनि दोषी भएको परिवारजनले आरोप लगाएका छन् । आरोपपछि उनलाई जिल्ला प्रहरी कार्यालय गौर तानिएको छ ।

गरुडाका निरञ्जन रामको घाटी रेटी हत्या भएपछि परेका ७ जनामध्ये विजयराम चमारलाई हिरासतमा प्रहरीले चरम यातना दिएपछि मृत्यु भएको पाइएको छ । उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अत्याधिक कुटपिटका कारण उनको मृत्यु भएको चिकित्सकहरुको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

विजयरामको मृत्युपछि देशभरका दलित अधिकारका लागी काम गर्ने सङ्घ संस्थाहरुले निस्पक्ष छानबिनको माग गरेका छन । यता रौतहट वासी दोषी प्रहरीमाथि कारवाही गर्न माग गर्दै आन्दोलरत छन् ।

Back to top