×

वीरगञ्ज १३ भदौ । वीरगञ्जमा थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोभिड अस्पतालमा उपचार गराउँन पुगेका दुई पुरुषको मृत्यु भएको हो । योसँगै पछिल्लो २४ घण्टाभित्र कोरोनाबाट ३ व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारीका ३७ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका एक ४३ वर्षीय पुरुष रहेका छन् ।

वीरगञ्जको गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत मनियारीका पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शुक्रबार राति १२ बजे काठमाण्डौ रिफर गरिएको थियो ।

एम्बुलेन्समा राखेर काठमाडौं लैजाने क्रममा चितवनको मुग्लिनमा पुग्दा शनिबार बिहान ४ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसीयाले जानकारी दिए ।

निमोनियाको समस्या भएपछि उनलाइ चार दिन पहिले तराई हस्पिटलमा भर्ना गरिएको थियो । त्यही उनको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएपछि शुक्रबार उनलाई वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । मृत्यु हुने पुरुषको निर्माण व्यवसायी प्रमोद यादव हुन् । उनि पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवका चचेरा भाइ हुन् ।

यस्तै वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमै उपचारका क्रममा शुक्रबार राति मुर्लीको पुरुषको मृत्यु भएको हो । शुक्रबार राति उपचारको क्रममा करिब १२ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए ।

हेपाटाइटिस बी र एचआइभी एड्स संक्रमित रहेका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि तीन दिन पहिले नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो।

मेडिकल कलेजमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझ वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो । कोभिड अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार राति १२ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

Back to top