वीरगञ्ज १३ भदौ । नारायणी अस्पतालको प्रयोशालमा प्रदेश नम्बर २ को विभिन्न स्थानबाट आएको स्वाबका नमुनाहरुलाई परीक्षण गर्दा थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
थपिएका सङ्क्रमितहरु प्रदेश नम्बर २ को पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाही र काठमाडौंका बासिन्दा समेत रहेका छन् ।
अस्पतालमा शुक्रबार ४ सय ४३ जनाको स्वाबको नमुनालाई परीक्षण गर्दा ५ महिलासहित थप ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालले शुक्रबार अबेर राति सार्वजनिक गरेको विवरण अनुसार पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिका गरी ३१ जनामा सङ्क्रमण देखिएको छ ।
जसमा पोखरियाका १० जना, कालीकामाईका ३ जना र बाकी सबै वीरगञ्जको विभिन्न वडाका बासिन्दा हुन ।
त्यसैगरी बाराका ८ जनाज धनुषाका ४ जना, महोत्तरीका ३ जना, रौतहटका १ जना, सर्लाहीका २ जना र काठमाडौँमा १ जनामा पनि सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमितमा १५ वर्षका युवादेखि ५६ वर्षका वृद्धसम्म रहेका छन् ।
थपिएका सङ्क्रमितहरुको सिटी भ्यालु १५ देखि ३२ सम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अटुलेशकुमार चौरसियाले जानकारी दिए ।