×

वीरगञ्ज ९ भदौँ । देशमा कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी भयावह अवस्थामा प्रदेश नं. २ छ ।

सङ्क्रमणका कारण दिनहुँ यहाँ कसैन कसैले ज्यान गुनाई रहेका छन् । अस्पतालहरूमा बेडको अभावका कारण सङ्क्रमितहरु होम आइसोलेशनमा बस्न बाध्य छन् ।

महामारीको चपेटमा सबैभन्दा नराम्रो तरिकाले प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको गृह जिल्ला पर्सा रहेको छ । यहाँ सङ्क्रमितको संख्या बढेर लगभग दुई हजार पुगेको छ भने ३० जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन् ।

संक्रमणलाई नियन्त्रण गर्न तत्कालै आवश्यक कदम नउठाए अवस्था झन् विकराल हुने विज्ञहरुले बताएका छन् ।

प्रदेशको अवस्था यस्तो नाजुक बनिरहेको बेला प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत भने अहिलेपनि छलफलमा व्यस्त छन् । प्रदेशलाई भगवान भरोसे छाडेर लगभग दुई हप्ता काठमाडौं बसेर आएका मुख्यमन्त्री राउत फेरी बजेटको दुरुपयोग गर्दै छलफल र गोष्ठी गर्न थालेका छन् ।

मुख्यमन्त्री राउतले कोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्सा जिल्लाको सरोकारबालाहरुसँग मंगलबार छलफल गरेका छन् ।

बाराको पथलैयास्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बलको सभाकक्षमा आयोजित छलफलमा मुख्यमन्त्री राउतले महामारीको प्रकोप बढदै गएको अवस्थामा महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विगतमा गरेको प्रयास र अगामी दिनमा चाल्नु पर्ने कदमहरु सरोकारबलाहरु सुझाव मागेका थिए ।

छलफलका सहभागीहरुले महामारी नियन्त्रणका लागि प्रदेश सरकारले प्रभावकारी ढंगबाट काम नगरेको बताएका थिए । उनीहरूले विभिन्न कारणले प्रदेशमा सामग्री खरिदमा समस्या उत्पन्न भएको गुनासो गरेका थिए ।

कार्यक्रममा बारा र पर्साका स्थानीय तहका प्रमुखहरुले जाँचमा दायरा बढाउँदै र आइसोलेशनको संख्या बढाउनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन पोखरेल , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुखहरु, बारा र पर्साका स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सुरक्षा निकायका पदाधिकारी, अस्पतालका मेसु , जनस्वास्थ्य कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Back to top